दुल्लुमा म पनि जिम्मेवार,संवाद कार्यक्रम सम्पन्न

दुल्लुमा म पनि जिम्मेवार,संवाद कार्यक्रम सम्पन्न

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा ‘जैविक कृषि, जिवन्त परिवार: यसका लागि म पनि जिम्मेवार’ भन्ने मूल नाराका साथ पालिका–स्तरीय संवाद कार्यक्रम सम्पन्न  भएको छ । दुल्लु नगरपालिका–१३ मा कृषि उत्पादनलाई अर्गानिक प्रणालीमा रुपान्तरण गर्न लक्षित पालिका–स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको हो ।

पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रुपान्तरण परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रममा हाल फलफूल र खाद्यान्नमा अत्यधिक विषादी प्रयोगका कारण नागरिकको स्वास्थ्यमा देखिएको नकारात्मक असरबारे छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै दुल्लु नगर प्रमुख भरत प्रसाद रिजालले विषादी प्रयोगले वनस्पति, जनावर र मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको भन्दै स्थानीय तह र कृषक सबैले जिम्मेवारीपूर्वक जैविक खेतीतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने, “नगरपालिकाले यस अभियानलाई पूर्ण सहयोग गर्नेछ। विषादीको प्रयोग त्यागी स्थानीय रुपमा जैविक झोलमोल तयार गरी प्रयोग गर्नुपर्छ।”

त्यसैगरी पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापाले विषादीको प्रयोग रोक्न र गाउँघरमै जैविक उत्पादन प्रवर्द्धन गर्न संघ–संस्था र पालिकाको सहकार्य आवश्यक रहेको बताए । उनले हाल बँदेल र बाँदर आतंकका कारण खेतीपातीमा चुनौती बढेको उल्लेख गर्दै वैकल्पिक खेती र सुरक्षाको वातावरण सिर्जना गर्न आग्रह गरे ।  

दुल्लु–१३ का मिनल बहादुर शाहीले जनस्वास्थ्यमा विषादी प्रयोगको दीर्घकालीन असर देखिएको भन्दै अब जनतालाई निरोगी र सुरक्षित राख्ने नीतिमा केन्द्रित हुनुपर्ने बताए ।

जर्मन सरकारको सहयोगमा एचपीसी (हिमाली पर्माकल्चर लिमिटेड) र यनसाव संस्थाको आयोजनामा, दुल्लु नगरपालिका र स्थानीय संस्था सोसेक नेपाल तथा सेवक नेपालको सहकार्यमा आयोजित कार्यक्रममा करिब ८० जना सहभागी थिए ।

कार्यक्रममा यनसावका वरिष्ठ कृषि कार्यक्रम व्यवस्थापक शंकर भट्टराईले दुल्लुलाई विषादी–मुक्त, पर्यावरणमैत्री र स्वास्थ्य–मुखी पालिका बनाउने दिशामा निरन्तर काम भइरहेको जानकारी दिए । सहभागीहरूले समेत हाल तीव्र गतिमा फैलिँदै गएका नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ खानपान भएको उल्लेख गर्दै जैविक खेती र स्वस्थ आहारको प्रवर्द्धनमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया