सम्झौताभन्दा ८ महिना अगावै पुल निर्माण सम्पन्न

सम्झौताभन्दा ८ महिना अगावै पुल निर्माण सम्पन्न

दैलेख  -  दैलेखको महाबु गाउँपालिकाको तारागाढ खोलामा सम्झौताभन्दा ८ महिना अघि नै पुल निर्माण कार्य सम्पन्न गरिएको छ । आरबी कन्स्ट्रक्सनले निर्धारित समयभन्दा अगावै गुणस्तरीय रूपमा काम सम्पन्न गरेपछि स्थानीयवासीहरू अत्यन्तै खुसी भएका छन्।

पूर्वाधार विकास कार्यालय दैलेखले २०८१ वैशाख १७ गते आरबी कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता गरेको थियो। सम्झौता अनुसार ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैयाँ ७९ पैसाको लागतमा पुल २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो। तर कम्पनीले तोकिएको म्यादभन्दा ८ महिना अघि नै पुल निर्माण सकेर कार्यालयलाई जिम्मा बुझाएको हो।

पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रविण कार्कीका अनुसार पुल नहुँदा स्थानीयवासीहरूलाई खोलाबाट आवतजावत गर्न कठिनाइ हुने गरेको थियो। “अब पुल बनेपछि महाबु गाउँपालिकाका सबै वडामा सहज आवतजावतको सुविधा पुगेको छ,” उनले भने।

वडा नं. २ का अध्यक्ष प्रकाश थापाले पुल निर्माणले स्थानीय जीवनमा ठूलो सहजता ल्याएको बताए । “पहिले बर्खामा खोला तर्ने जोखिम थियो, अहिले भने सहज र सुरक्षित आवाजाइ सम्भव भएको छ,” उनले भने।

 

प्रतिक्रिया