गणित र विज्ञान शिक्षक नहुँदा विद्यार्थी सदरमुकाम धाउन बाध्य

पाँचपटक विज्ञापन गर्दा पनि कोही शिक्षक सम्पर्कमा आएनन्

गणित र विज्ञान शिक्षक नहुँदा विद्यार्थी सदरमुकाम धाउन बाध्य

दैलेख -  दैलेखको भैरवी गाउँपालिका–४ स्थित गौरी माध्यमिक विद्यालय बालेकाँडामा विषयगत शिक्षक अभावले पढाइ लामो समयदेखि प्रभावित भएको छ । माध्यमिक तहका विद्यार्थीले करिब एक वर्षयता गणित र विज्ञान विषयमा नियमित रुपमा पढ्न नपाउँदा परीक्षाको तयारीमा समेत समस्या भएको छ ।

२०३८ सालमा स्थापाना भएको उक्त विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरू विशेष प्रभावित बनेका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षका उमेश खनालले गणित र विज्ञान पढ्न शिक्षक नहुँदा सदरमुकाम दैलेख बजारमा ट्युसन पढ्न आउनुपर्ने बाध्यता सुनाए । कार्तिकदेखि मासिक ८ हजार रूपैयाँ खर्च गरेर ट्युसन पढ्न थालेको छु,’ उनले भने, ‘विद्यालयमा बिषय शिक्षक नहुँदा एसईई नजिकिँदै गर्दा झनै चिन्ता बढेको छ ।’

उनले बताएअनुसार विद्यालयमा अभिभावकहरूले पटक–पटक शिक्षकको माग गर्दा पनि पालिकाबाट कुनै पहल भएको छैन ।

‘शिक्षक नहुँदा पढाइ प्रभावित भएको छ, हामीले बाध्य भएर बजार ट्युसन आउनुपरेको हो,’ उनले भने ।

त्यस्तै, १७ वर्षका अंकुश बिक पनि सोही विद्यालयका पुरक विद्यार्थी हुन् । अघिल्लो वर्ष राम्रो पढाइ नहुँदा पुरक परीक्षामा परेका उनी अहिले फेरि गणित र विज्ञान पढ्न सदरमुकाम पुगेका छन् । ‘विद्यालयमा लामो समयदेखि शिक्षक अभाव छ, विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ,’ अंकुशले भने । उनका आमाबुवा भारतमा मजदुरी गर्न जाने गरेका छन् । मजदुरीबाट आएको पैसाले पढाइ खर्च बेहोर्दा पनि विद्यालयमा शिक्षक नहुँदा उनी असन्तुष्ट छन् ।

भैरवी गाउँपालिका ४ मा रहेको बालेकाँडा स्थित गौरी माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिष्टका अनुसार संघीय अनुदानअन्तर्गत गणित र विज्ञान दरबन्दी एउटै भएको बताए  । ‘गत वर्ष फागुन २० गतेदेखि पद रिक्त छ । त्यहाँ कार्यरत शिक्षक अर्को विद्यालयमा सरुवा भएपछि हालसम्म नयाँ शिक्षक नियुक्त हुन सकेको छैन,’ उनले भने।

विद्यालयले पाँच पटकसम्म शिक्षकका लागि सूचना निकाल्दा पनि अध्यापनपत्रसहितका शिक्षक सम्पर्कमा नआएको बिष्टले बताए । ‘अध्यापनपत्र नभएका केहीले सम्पर्क गरे पनि पालिकाले राख्न नमानेको हो,’ उनले भने ।

उनका अनुसार निजी स्रोतबाट शिक्षक राख्ने विद्यालयको आर्थिक क्षमता पनि नभएको र कोही सम्पर्कमा नआएको र कोही सम्पर्कमा आउन इच्छुक भएमा आफ्नो सम्पर्क नम्बर ९८४८०७४०८५ मा सम्पर्क गर्न अनुरोध गरे । 

सोही विद्यालयमा अर्थशास्त्र विषय अध्यापन गर्दै आएका शिक्षक डम्बरबहादुर थापाका अनुसार परीक्षा आउन चार महिना मात्र बाँकी रहँदा विद्यार्थीले गणित र विज्ञान विषयमा किताबसमेत राम्ररी पल्टाउन नपाएको अवस्था रहेको जानकारी दिए । ‘शिक्षक नहुँदा कक्षा ९ र १० का विद्यार्थीलाई अहिले एनसिग्रेड भर्चुअल अनलाइन कक्षामार्फत पढाइ भइरहेको छ,’ उनले भने ।

विद्यालयमा यस वर्ष कक्षा १० मा ६४ जना विद्यार्थी भर्ना भए पनि हाल नियमित रूपमा ३०–३५ जना मात्रै विद्यालय आउँछन् । बाँकी विद्यार्थी दैलेख र सुर्खेतका विभिन्न विद्यालय तथा ट्युसन सेन्टरमा पढ्न गएको प्रधानाध्यापक बिष्टले बताए ।

भैरवी गाउँपालिका शिक्षा शाखा प्रमुख उमेशजंग कार्कीले शिक्षकका लागि पटक–पटक विज्ञापन गरे पनि अध्यापन अनुमति पत्र भएको शिक्षक कोही पनि सम्पर्कमा नआएको बताए । अध्यापन अनुमति पत्र भएका शिक्षक सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘अध्यापन अनुमति पत्र नभएका शिक्षक राख्न नमिल्ने भएकाले अहिले पनि समस्या समाधान हुन सकेको छैन, तर प्रयास जारी छ ।’

 

प्रतिक्रिया