ठाटीकाँधका कृषकलाई च्याउ वितरण तथा एक दिने तालिम सम्पन्न

ठाटीकाँधका कृषकलाई च्याउ वितरण तथा  एक दिने तालिम सम्पन्न

दैलेख -  जिल्लाको ठाटीकाँध गाउँपालिकामा कृषकहरूलाई च्याउको विउ वितरण तथा एक दिने स्थलगत तालिम सम्पन्न भएको छ ।  एईआइएन लक्जेम्बर्गको साझेदारीमा, ठाटीकाँध गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजनाको सहयोगमा वितरण गरिएको हो।

यसअघि गाउँपालिकाका सबै ६ वडामा प्राविधिक टोलीले कृषकका घरमै पुगेर छ वटा च्याउ घर निर्माण गरिसकेको थियो । त्यसपछि बिहीबार एक दिने स्थलगत च्याउ उत्पादन सम्बन्धी तालिम आयोजना गरिएको थियो ।

तालिममा सहभागी कृषकहरूले कन्या च्याउ उत्पादनका प्रविधि, रोग–कीरा नियन्त्रण, बजार व्यवस्थापन लगायतका विषयमा व्यवहारिक सीप सिकेका थिए । तालिम सम्पन्नसँगै गाउँपालिकाका ६ वटै वडाबाट प्रतिनिधित्व गर्ने ६ जना कृषकलाई च्याउको विउ र प्लास्टिक सामग्री वितरण गरिएको कृषि प्राविधिक भुपेन्द्र सिजापतिले जानकारी दिए।

ठाटीकाँध–३ का कृषक इन्द्र बोगटीले भने, 'पहिले घरको कोठामै च्याउ उत्पादन गर्थ्यौं, अहिले प्लास्टिक टनेलको प्रयोग गरेर उत्पादन गर्न सकिने रहेछ भन्ने थाहा भयो । तालिम र च्याउ घर पाएपछि नयाँ अवसरको अनुभूति भएको छ,'उनले भने, 'यो अवसरका लागि सोसेक नेपाललाई धन्यवाद  ।'

परियोजनाको उद्देश्य कृषकहरूलाई आत्मनिर्भर बनाउँदै वैकल्पिक आम्दानीका स्रोत विकास गर्नु रहेको प्राविधिक सिजापतिले बताए । च्याउ खेतीको सुरुवातसँगै गाउँमा आधुनिक कृषि प्रणालीप्रति उत्साह बढ्दै गएको उनले उल्लेख गरे।

कृषि प्राबिधिकका रुपमा सहकार्य परियोजनामा कार्यरत भुपेन्द्र सिजापति र जानकी तथा कृषि मौरी फर्म सुर्खेतका सञ्चालक नमराज आचार्य रहेका थिए । 

प्रतिक्रिया