अटो ड्राइभिङ तालिमले बढायो आत्मविश्वास

अटो ड्राइभिङ तालिमले बढायो आत्मविश्वास

सुर्खेत -   सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, ७ र ८ का छ  जना महिलालाई लक्षित गरी सञ्चालन भएको एक महिनाको अटो ड्राइभिङ तालिम १८ कार्तिक देखि सुरु भएको छ ।

एईआइएन लक्जेम्बर्गको साझेदारी, बिरेन्द्रनगर नगरपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’ अन्तर्गत महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम अघि बढ़ाइएको हो।

तालिम सुरु भएको आज ११ औँ दिन पुगेको छ ।  फ्लोअपका क्रममा तालिमको ११ औँ दिन सहभागी महिलाले आफ्नो अनुभव र भावना साझा गर्दै तालिमले जीवनमा नयाँ सम्भावना खोलिदिएको बताए ।

महिलाहरुले पनि सीप सिकेर जीविकोपार्जन गर्न सकून भन्ने उदेश्यले हामीलाई अटो ड्राइभिङ तालिम दिएकोमा वडा नम्बर - १ की सिता योगीले धन्यवाद दिइन् ।  सबैभन्दा पहिले म सोसेक नेपाललाई धेरै धन्यवाद दिन चाहन्छु',उनले भनिन्,  'यसअघि म बोर्डिङमा पढाउँथेँ, तर केही नयाँ सीप सिकेर त्यसलाई पेसा बनाउन चाहान्थेँ । यति बेला सोसेक नेपालले यो अवसर जुराइदिएको छ। तालिमपछि म आफ्नै अटो निकालेर चलाउने योजना बनाएकी छु।'

यस्तै, वडा नम्बर - १ की शान्ति खत्रीले पहिले बेकरी तालिम सिकेकी थिइन्, तर त्यसपछि मार्गदर्शन गर्ने कोही नहुँदा र आर्थिक अवस्था कमजोर हुँदा त्यो सीप प्रयोग गर्न सकिनन् ।  त्यसपछि सोसेक नेपालले सीप सिकेर जीविकोपार्जन गर्ने अवसर दिएकोमा आभार व्यक्त गरिन् ।

यस तालिममा सहभागी महिलामध्ये एकल महिला तथा दलित समुदायका महिलालाई विशेष प्राथमिकताका साथ छनोट गरिएको छ । उनीहरूलाई अटो चलाउने दक्षता दिने मात्र होइन, त्यसपछि रोजगारमार्फत आत्मनिर्भर बनाउन मद्दत गर्ने परियोजनाको लक्ष्य रहेको सोसेक नेपालले जनाएको छ ।

 परियोजनाले स्थानीय स्तरमा महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया