अभिभावकविहीन बालबालिकालाई सोसेक नेपालद्वारा खाद्यान्न सहयोग

अभिभावकविहीन बालबालिकालाई सोसेक नेपालद्वारा खाद्यान्न सहयोग

दैलेख – अभिभावकविहीन तथा लैङ्गिक हिंसाबाट प्रभावित बालबालिकालाई सोसेक नेपालले खाद्यान्न सहयोग गरेको छ। बुधबार सोसेक नेपालद्वारा सञ्चालित महिला बालबालिका केन्द्र (सेफहाउस) तथा बाल हेल्पलाइन १०९८ बाट सेवा लिइरहेका बालबालिकालाई ‘गल्स मेटर’ परियोजनाको सहयोगमा खाद्यान्न वितरण गरिएको हो। खाद्यान्न सामग्री सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले वितरण गरेका छन् ।  संस्थाका अनुसार ४ जना बालक र ६ जना बालिकालाई चामल, दाल, तेल, नुनलगायत एक महिनासम्म पुग्ने खाद्यान्न प्रदान गरिएको छ।


घरमा कमाउने कोही नभएको कठिन परिस्थितिमा सहयोग पाउँदा केही राहत मिलेको नारायण नगरपालिका–२, कुसडा निवासी ललिता कामीले बताइन्। उनका अनुसार, “एक महिनाका लागि भए पनि घर चलाउन सहज हुने भयो।”
यस्तै, नारायण नगरपालिका–२ की बसन्ती कुमारी रानाले पनि सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भनिन्, “भषभरि खेती गरे पनि तीन महिनामात्र खान पुग्छ। श्रीमान् पेसर रोगले ग्रस्त भएकाले कमाउन सक्नुहुन्न। यस्तो बेला खाद्यान्न सहयोग पाउँदा निकै खुसी लाग्यो।”


नारायण नगरपालिका–४, रातापानीकी लक्ष्मी बुढाले सोसेक नेपालले विगतदेखि नै आफूलाई विभिन्न क्षेत्रमा साथ दिएको बताइन्। “संस्थाले पहिले विउ–विजन तालिम र बाख्रासमेत सहयोग गरिसकेको छ। अहिले खाद्यान्न सहयोग पाउँदा झनै खुसी छु,” उनले भनिन्। उनले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर गर्न आग्रह गरिन्। सोसेक नेपालले दैलेखका जोखिमग्रस्त बालबालिका, महिलामाथि हुने हिंसा तथा अभिभावकविहीन अवस्थाका बालबालिकालाई खाद्य सुरक्षा तथा संरक्षणमा सहयोग गर्दै आइरहेको छ।
 

प्रतिक्रिया