जुम्ला खानेपानी कार्यालयको ताला खुल्यो

जुम्ला खानेपानी कार्यालयको ताला खुल्यो

जुम्ला -  जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको विरोधमा जुम्लाका राजनीतिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए । कार्यालय खारेज भएपछि प्रतिनिधिसभामा जुम्लाका सांसदहरुले तत्कालीन सरकारको ध्यानाकर्षण गराएका थिए ।

जिल्लादेखि सदनसम्मको आवाज र पहलले पछि सरकारले जुम्लालाई फिल्ड कार्यालयको रुपमा पुनः जिम्मेवारी दिएको थियो । तर स्थायी कार्यालय आवश्यक रहेको भन्दै तालाबन्दी यथावत थियो । उक्त तालाबन्दी कामकाजका लागि खोलिएको छ ।

जिल्ला स्तरीय पहलकर्ताको नेतृत्व गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले काम काजका लागि ताला खोलिएको जानकारी दिए  । उनका अनुसार पछिल्लो समय फिल्ड कार्यालयले गर्ने कामहरु कार्यालय तालाबन्दी हुँदा असर हुने भएको सेवाग्राहीको गुनासो अनुसार जनप्रतिनिधि, राजनैतिकदलको सल्लाहमा ताला खोलिएको छ । फिल्ड कार्यालय जुम्लाका कर्मचारी खगेन्द्र भण्डारीले चार महिनादेखि कार्यालय तालाबन्दी हुदा सेवाग्राहीबाट गुनासो बढेकाले कार्यालयको माग अनुसार ताल खुलेकोमा सबैलाई धन्यवाद दिए  ।

जिल्ला समन्वय समितिका प्रमुख आचार्यले भने यहाँको बृहत धौलीगाड खानेपानी आयोजनाको काम रोकिएकाले काम सुचारु नहुँदासम्म ताला नखोल्ने समन्वय प्रमुख आचार्यले जानकारी दिए  । यता अन्य कार्यालय खुलेपनि जुम्लाको स्थायी कार्यालयका लागि पहल निरन्तर जारी रहेको उहाँले जानकारी दिनुभयो । जुम्लामा करोडौँको भवन लगाएर कार्यालय सरेपछि सरोकारवाला निकाय र राजनैतिकदल विरोध गर्दै आएका छन् ।

फिल्ड कार्यालयको लेखा प्रणाली भने सङ्घीय खानेपानी कार्यालय सुर्खेतबाट सुरु भएको छ । सरकारले खानेपानी आयोजना जुम्ला खारेज गरेपछि माथिल्लो कर्णालीको काम समेत प्रभावित हुन थालेको छ । लेखा प्रणालीनै सुर्खेत सारेपछि खानेपानीका सानातिना कामले कर्णालीका मानिसहरु सुर्खेत जानुपर्ने बाध्यताले विरोध भइरहेको पाइन्छ ।

सरकारले गत असारमा कार्यालय खारेज लेखाप्रणली हटाएपछि कर्मचारी दरवन्दी पनि हटाएको छ । अहिले जुम्ला फिल्ड कार्यालयमा खानेपानी कार्यालय सुर्खेतअन्तर्गत ईन्जिनियर कपिल प्रसाद मोचीसहित तीन जना खटाएइको छ । तर सबै काम कामकाज सुर्खेतबाट गर्नुपर्ने भएकाले समस्या भइरहेको छ । सङ्घीय खानेपानी सुर्खेतका प्रमुख भोलाप्रसाद थापाले धौलीगाड खानेपानी तातोसिजनमा काम अगाडि बढ्ने बताउनुभयो । उहाँका अनुसार फिल्ड कार्यालयमा पनि द्रुत बढाउन प्रयास भइरहेको जानकारी दिए । 
 

प्रतिक्रिया