आनन्द माविमा विद्यालय सुशासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा विद्यालयमा विद्यालय सुशासन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा वीरेन्द्रनगर नगरपालिकाको समन्वय, सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’को सहजीकरणमा बिरेन्द्रनगर–२ मा अवस्थित आनन्द माध्यमिक विद्यालयमा विद्यालय सुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय प्रशासन, शिक्षक तथा बाल–बालिका मिलाएर १४ जनाको सहभागितामा सम्पन्न उक्त अभिमुखीकरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सचिव, सदस्य, प्राध्यापक तथा बाल क्लव प्रतिनिधि लगायत सहभागी थिए ।
उक्त कार्यक्रमले विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सुशासनका आधारभूत पक्षमा सुदृढ बनाउने तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्य राखेको थियो ।

कार्यक्रममा छलफल गरिएका प्रमुख शीर्षकहरुमा विद्यालय सुशासनको आधारभूत परिचय, सुशासनको परिभाषा, उद्देश्य, सहभागिता, उत्तरदायित्व र जवाफदेहिता, सुशासनले विद्यालयको शैक्षिक गुणस्तरमा पार्ने प्रभाव, विद्यालय व्यवस्थापन समितिको कानुनी तथा संरचनात्मक व्यवस्था, वि.व्य.स. गठन, भूमिका र कार्य क्षेत्र, विद्यालय निर्णय, अनुगमन, समन्वय र जिम्मेवारी, प्रधानाध्यापक र वि.व्य.स.बीचको सहकार्य, वित्तीय सुशासन लगायतका शीर्षकहरुमा छलफल गरिएको थियो ।
त्यस्तै बजेट तथा वार्षिक कार्ययोजना, लेखाप्रणाली, भौचर, भुक्तानी प्रक्रिया, आन्तरिक र बाह्य प्रतिवेदन प्रणाली, विद्यालय संचालन तथा व्यवस्थापनसम्बन्धी प्रमुख नीतिहरू, शिक्षक व्यवस्थापन, छात्रवृत्ति, विद्यार्थी अधिकार, शिक्षा सम्बन्धी स्थानीय तहका नीतिहरू, विद्यालयको अनुगमन र मूल्यांकन, जोखिम व्यवस्थापन तथा विद्यालय सुरक्षा, समावेशी शिक्षा तथा लैंगिक समानता, शिक्षण–सिकाइ गुणस्तरमा सुशासनको भूमिका लगायतका विषयमा छलफल गरिएको बिहानी परियोजना सुर्खेतले जनाएको छ ।
उक्त अभिमुखीकरण कार्यक्रम सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाका कार्यक्रम संयोजक माया अधिकारीले सञ्चालन गर्नु गरेकी थिइन् ।

प्रतिक्रिया