मुगुको खत्याड इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया अघि बढ्यो

मुगुको खत्याड इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौँ  -  कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको उत्तरी भेग खत्याड गाउँपालिकाका जनताको सुविधाका लागि खत्याड इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया अघि बढेको छ ।

तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको पहलमा गत भदौ ९ गतेको मन्त्रिपरिषद्ले खत्याडमा इलाका प्रशासन स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई वर्तमान सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।

अर्थ मन्त्रालयले यही मङ्सिर ३ गते खत्याडमा इलाका प्रशासन स्थापना गर्नका लागि जनशक्ति र स्रोतको सुनिश्चितता गरेको छ । हाल खत्याडका स्थानीयले नागरिकता बनाउन हजारौ रकम खर्च गरेर दुई दिनको पैदल यात्रामार्फत जिल्ला सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । खत्याडवासीले अब आफ्नो पालिकामै नागरिकता पाउने भएका छन् ।

नेपाली कांंग्रेस मुगुका सभापतिसमेत रहेका पूर्वमन्त्री शाहीले निर्वाचनको बेला मतदातासँग गरेका प्रतिबद्धतालाई मध्येनजर गरी आफू मन्त्री भएको बेलामा जनताको कामलाई प्राथमिकता दिएर अघि बढेको बताए ।

उनले स्थानीयको मागअनुसार गत भदौ १३ गते मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए  । “डोल्फु क्षेत्रका स्थानीयवासीलाई कामका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जान र आउन करिब एक साता पैदल समय लाग्ने भएको स्थानीयको दुःख तथा पीडा बुझेर सो निर्णय गरेका हौँ”, उनले भने ।

यसैगरी उनी वनमन्त्री भएकै समयमा गत वैशाख २२ गते राराको प्रकृति संरक्षणमा जोड दिने उद्देश्यका साथ रारामा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय स्थापना गरिएको थियो । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल एवं नेपालको सबैभन्दा ठूलो ताल रारासँगै त्यसवरपरको प्रकृति संरक्षणका लागि कर्णाली प्रदेशमै कोषको पहिलो कार्यालय स्थापना गरिएको हो ।

पूर्वमन्त्री शाहीकै पहलमा जिल्लामा गमगढी रारा खत्याड जोडने सडक निर्माण, सङ्घीय जलस्रोत तथा सिँचाइ विकास आयोजना स्थापना, गमगढी नाक्चेनाङला सडक बहुवर्षीय आयोजना, छायाँनाथ रारा नगरपालिकामा एकीकृत सहरी विकास कार्यक्रमलगायतका दीर्घकालीन महत्वका काम अघि बढेको उहाँको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया