सुर्खेतमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

सुर्खेतमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

सुर्खेत - नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ।

कर्णाली प्रदेशका आठ र लुम्बिनी प्रदेशका दुई जिल्लाका गरी दश जिल्लाबाट सहभागी २४ जना पत्रकारहरूका लागि सुर्खेतस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरमा मंसिर ८ गतेदेखि ११ गतेसम्म कार्यक्रम सञ्चालन हुने नेपाली सेनाले जनाएको छ। अभिमुखीकरण कार्यक्रमको सञ्चालन उपसेनानी श्री सृजना नेपाल (न्यौपाने) ले गरेका थिए ।

कार्यक्रमको उद्घाटन उत्तर पश्चिम पृतनाका पृतनापति श्री दिपेसजङ्ग शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा बोल्दै पृतनापति शाहले पत्रकारहरूलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका र गतिविधिबारे सुसूचित गराउनु नै अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

उहाँले नेपाली सेनाले राष्ट्रको सुरक्षा, विकास तथा संरक्षणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई विशेष रूपमा उल्लेख गर्दै पत्रकार र सेनाबीचको समन्वय अझ मजबुत बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रमको पहिलो दिन प्रमुख सेनानीहरू संजय अधिकारी, वरुण केसी, महासेनानी जीवन कार्की र ज्योती कटवालले पत्रकार आचारसंहिता, सुरक्षा संवेदनशील विषय र जिम्मेवार पत्रकारितासम्बन्धी प्रस्तुति दिएका थिए।

चार दिनसम्म सञ्चालन हुने यस अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूलाई रक्षा क्षेत्रसम्बन्धी समाचार सम्प्रेषणमा थप दक्ष र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया