महिला हिंसा विरुद्धको १६ दिने अभियान दुल्लु र भैरवीमा सुरु
दैलेख - 'प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ' भन्ने नारासहित दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ गरिएको छ।
दुल्लु नगरपालिकामा नगर प्रमुख भरत प्रसाद रिजालले व्यानर वाचन तथा दिप प्रज्वलन गर्दै उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख रिजालले सदियौंदेखि घरभित्र र बाहिर महिलामाथि हुने हिंसा पूर्णरुपमा अन्त्य गर्न अझै चुनौती रहेकाले स्थानीय सरकार, सामाजिक संस्था र आम नागरिकले संयुक्त रूपमा अभियान अगाडि बढाउनुपर्ने बताए ।
नगरपालिकाका कार्यकारी प्रमुख पदमबहादुर बुढा क्षेत्रीले महिला हिंसा अन्त्य गर्न समुदायको सकारात्मक भूमिकाले मात्र सरकार तथा संस्थाले गरेका प्रयासहरू सफल हुने र हिंसामुक्त समाज निर्माणमा सबैको महत्वपूर्ण दायित्व रहेको स्पष्ट पारे ।

महिला शाखा प्रमुख सरिता सिंहले नारामा मात्र सीमित नभई व्यवहारिक परिवर्तनका लागि स्थानीय तह, सामाजिक संस्था तथा समुदाय सबै एकजुट बन्नुपर्नेमा जोड दिँदै, अभियान सफल पार्न सबैको सहकार्यको अपेक्षा राखे ।
सिभिआरएम ग्लोबल नेपालको सहयोग र सोसेक नेपाल–आवाज संस्थाको समन्वय तथा दुल्लु नगरपालिकाको आयोजनामा सञ्चालित यस अभियानका दौरान लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक विविध कार्यक्रमहरू चरणबद्ध रूपमा सञ्चालन गरिने सोसेक नेपाल दैलेखको ुगर्ल्स म्याटरु परियोजनाकी कार्यक्रम अधिकृत धिर्जा सिजापतीले जानकारी दिए ।
यसैबीच, भैरवी गाउँपालिकामा पनि सोही नारासहित आजदेखि १६ दिने अभियान आरम्भ भएको छ। गाउँपालिकाको आयोजनामा सिभिआरएम ग्लोबल नेपालको सहयोग र सोसेक नेपालको सहकार्यमा विभिन्न सामाजिक तथा सचेतनामूलक गतिविधिहरू सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया