डुङ्गेश्वरमा कृषि मेला–प्रदर्शनी सुरु

डुङ्गेश्वरमा कृषि मेला–प्रदर्शनी सुरु

सुर्खेत -  डुङ्गेश्वर गाउँपालिका, दैलेखमा कृषि मेला–प्रदर्शनी २०८२ सुरु भएको छ। डुङ्गेश्वर गाउँपालिका र एभरेष्ट क्लब (पोषण परियोजना) दैलेखको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको उद्घाटन कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले गरेका थिए ।

उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले कार्यक्रमको अध्यक्षता गरेका थिए । मन्त्री शाहले कृषि क्षेत्रलाई दिगो बनाउँदै ग्रामीण अर्थतन्त्र सुदृढ गर्न यस्ता आयोजनोंले महत्वपूर्ण योगदान गर्ने बताए । उनका अनुसार किसानलाई प्रविधिमैत्री बनाउन, नवप्रवर्तनशील बाली प्रवर्द्धन गर्न र उत्पादन लागत घटाउन राज्य निरन्तर साथमा रहनेछ।

मेलामा स्थानीय कृषक, किसान समूह तथा कृषि उद्यमीहरूले आफ्ना उत्पादन, नवीन कृषि प्रविधि र परामर्श सेवाहरू प्रदर्शन गरेका छन्। कार्यक्रममा कृषकलाई आवश्यक ज्ञान, सीप तथा बजार अभिमुखिकरण उपलब्ध गराउने उद्देश्य रहेको आयोजक संस्थाहरूले जानकारी गराएका छन्।

बहुवर्षीय बाली, तरकारीजन्य उत्पादन, पशुपालन, मौरीपालन, बीउ–बिजन, प्रविधिमैत्री कृषि उपकरणलगायत विषयमा समेत प्रदर्शन तथा प्रचार–प्रसार गरिएको छ। मेलाले स्थानीय किसानको मनोबल वृद्धि गर्नुका साथै कृषि क्षेत्रको व्यावसायीकरण र आत्मनिर्भरता अभिमुखीकरणमा टेवा पुग्ने विश्वास आयोजकहरूको छ।

प्रतिक्रिया