रुकुमपश्चिममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुमपश्चिममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत -  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमबजार नजिक भेरी कोरिडोरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार चिसापानीबाट राडी बजारतर्फ जाँदै गरेको लु.१ ज.४५७९ नम्बरको बोलेरो जिप र विपरित दिशाबाट आउँदै गरेको क.प्र.०३–००१ प.०९२० नम्बरको मोटरसाइकल एक अर्कासँग ठोक्किएका थिए । अनियन्त्रित भएर उछिटिएको मोटरसाइकल धुर्सेनीबाट राडी बजारतर्फ आउँदै गरेको लु.प्र.०२–०००१ ह.०१९२ नम्बरको अटोसँग समेत ठोक्किँदा दुर्घटना थप गम्भीर बनेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका–८ का ३५ वर्षीय सिताराम चदारा मृत भएका छन्। मोटरसाइकलमा सवार नलगाड–८ का १६ वर्षीय नवराज चदारा र आठबिसकोट–११ का १४ वर्षीय कमल सुनार घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । अटोमा सवार चार जनाको अवस्था सामान्य रहेको जनाइएको छ। बोलेरोका चालक आठबिसकोट नगरपालिका–१३ का २२ वर्षीय टेकबहादुर खत्री र अटोका चालक आठबिसकोट–११ का २८ वर्षीय रामबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । बोलेरो चालक टेकबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया