विद्यालय सुशासन अभिवृद्धि तथा लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

विद्यालय सुशासन अभिवृद्धि तथा लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

जुम्ला -  चन्दननाथ नगरपालिका–४ स्थित श्री चन्दननाथ नमुना माध्यमिक विद्यालयमा विद्यालय सुशासन सुदृढीकरण तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गतका कार्यक्रम सुरु भएका छन्।

विद्यालय व्यवस्थापन समिति एसएमसीका पदाधिकारीहरूलाई लक्षित क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम संयोजक माया अधिकारीको संयोजनमा आयोजना गरिएको हो ।

अभिमुखीकरणका क्रममा विद्यालयमा सुशासन र पारदर्शिता विस्तारका उद्देश्यले सबै आर्थिक कारोबार चेकमार्फत गर्न निरन्तरता दिने, विद्यालय व्यवस्थापन समितिको छुट्टै कार्ययोजना बनाउन, विद्यालय सुधार योजना प्रभावकारी कार्यान्वयन गर्न र गुनासो पेटिका नियमित सञ्चालन एवं खोल्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै विद्यालयले सूचना अधिकारी तोकिसकेको, नागरिक बडापत्र जारी गरेको, बालमैत्री पूर्वाधार विकासमा जोड दिएको तथा ‘निलो डायरी कार्यक्रम’ सकारात्मक सुधारका रूपमा जारी रहेको जानकारी दिइएको छ। विद्यालयमा लैङ्गिक समानतासम्बन्धी प्रयासलाई संस्थागत गर्न जेन्डर फोकल पर्सन तोक्ने निर्णय पनि सभाले गरेको छ।

यसैबीच, ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित विद्यालयले र्‍याली सहित महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । अभियानअन्तर्गत विद्यार्थी, अभिभावक र समुदायलाई लक्षित गर्दै सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ।

प्रतिक्रिया