सल्यानमा निःशुल्क आँखा शिविरले ७७५ जना लाभान्वित
सल्यान - सल्यानको शारदा नगरपालिकामा एक हप्ता सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ७७५ जनाले सेवा लिएका छन् । नगरपालिकाका ७ स्थानमा सञ्चालन गरिएको शिविरमा ३११ पुरुष र ४४६ महिला सहभागी भएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ।
आँखा परीक्षणमा १३२ जनामा मोतियाविन्दु देखिएपछि उनीहरूलाई शितलपाटीमा निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख रविन विष्टले बताए । जटिल समस्या रहेका ५३ जना राप्ती आँखा अस्पताल दाङ रिफर गरिएको छ।
शारदा नगरपालिकाको आयोजनामा नेपाल नेत्र ज्योति संघ र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा कम दृष्टि भएका १८१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ।
दुरदराजका नागरिकलाई घरमै सेवा उपलब्ध गराउने लक्ष्यसहित गरिएको शिविरले वृद्धवृद्धामा विशेष खुशी ल्याएको छ। गाउँमै आँखा उपचार पाउँदा सहज भएको सेवाग्राही चन्दा देवी वली र छवि बुढाथोकीले बताए।
प्रतिक्रिया