नारायण सामाजिक सुरक्षामा पूर्ण पहुँच सुनिश्चितता नगर घोषणा

नारायण सामाजिक सुरक्षामा पूर्ण पहुँच सुनिश्चितता नगर घोषणा

सुर्खेत  -   दैलेखको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता वितरणमा सबै योग्य लाभग्राहीको पहुँच सुनिश्चित नगर घोषणा गरिएको छ। बुधबार आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका सूचकहरू पूरा गर्दै एकजनासमेत वञ्चित नपर्ने व्यवस्था सुनिश्चित गरेपछि औपचारिक घोषणा गरिएको हो । यो उपलब्धि हासिल गर्ने नेपालकै पहिलो नगरपालिका बनेको नगरप्रमुख लोमन शर्माले बताए। उनले सो कार्य सफल बनाउन सहयोग गरेको सेभ द चिल्ड्रेन र एभरेष्ट क्लबद्वारा सञ्चालित ‘पहुँच परियोजना’लाई धन्यवाद पनि दिए ।

घोषणा कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक सुरक्षा भत्ता प्रभावकारी रूपमा उपयोग गर्न लाभग्राही, सरकार र समुदायबीचको समन्वय आवश्यक हुने बताए । उनले कर्णाली प्रदेशले शैक्षिक, छोरीबुहारी छात्रवृत्ति तथा बैंक खाता छोरीको सुरक्षा जीवनभरि जस्ता कार्यक्रम सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।

नेपाल सरकारले सन् २०३० भित्र सामाजिक सुरक्षामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। सो लक्ष्यसहितको अभियानको शुभारम्भ गर्न सक्षम पहिलो नगरपालिकाको हैसियत नारायण नगरपालिकाले प्राप्त गरेको छ।

प्रतिक्रिया