वीरेन्द्रनगरमा पत्रकारको मृत्यु प्रकरणमा आन्दोलन चर्कियो

वीरेन्द्रनगरमा पत्रकारको मृत्यु प्रकरणमा आन्दोलन चर्कियो

सुर्खेत -  सुर्खेतमा गएराति भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि उनका आफन्त तथा सञ्चारकर्मीहरूले वीरेन्द्रनगरमा प्रदर्शन चर्काएका छन् ।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनकारीहरूले शनिबार बिहानदेखि वीरेन्द्रनगरका मुख्य चोकहरूमा टायर बालेर आवागमन अवरुद्ध पारेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–२ मा अवस्थित वडा कार्यालय अगाडि मुलपानीबाट भुरेली तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र पत्रकार आचार्य चालक रहेको लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । उद्धारपछि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक २३ वर्षीय यामबहादुर शाही घाइते अवस्थामा उपचाररत छन् । उनका टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

आचार्यका आफन्त तथा स्थानीयहरू भने प्रहरीले घटनास्थलमा प्रमाण सुरक्षित राख्नेतर्फ ध्यान नदिई पानी छर्केर मुचुल्का नउठाई प्रमाण नष्ट गरेको आरोप लगाउँदै सडक अवरुद्ध गर्दै विरोध गरिरहेका छन् । घटनाको गम्भीर छानबिन र सत्यतथ्य सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले घाइतेको ज्यान बचाउन तत्काल अस्पताल पु¥याउनु नै प्राथमिकता भएकाले प्रहरीमाथिको आरोप अनुचित रहेको स्पष्ट पारे ।

मृतक आचार्य कालीकोटको रेडियो तिला आवाजका स्टेशन म्यानेजर तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष समेत रहेका थिए । पेशागत रूपमा सक्रिय रहेका उनी केही समयदेखि वीरेन्द्रनगरमा बस्दै आएका थिए ।

प्रतिक्रिया