सुरक्षित तथा समावेशी सिकाइका लागि सडक नाटक : शिक्षक–विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया
दैलेख : सुरक्षित र समावेशी सिकाइ वातावरण प्रवर्द्धनका उद्देश्यले नारायण नगरपालिका– स्थित त्रिभुवन माध्यमिक र जनता मध्यामिक विद्यालयमा आइतबार नाटक प्रदर्शन गरिएको छ। नाटक सोसेक नेपालद्वारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन कार्यक्रमअन्तर्गत नारायण नगरपालिकाको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा प्रस्तुत गरिएको हो।
कार्यक्रममा विद्यालय तथा समुदायका सहभागितामूलक भूमिका, सुरक्षित सिकाइ वातावरणको आवश्यकता तथा विद्यार्थीले घर र समाजमा भोग्ने व्यवहारजन्य समस्या समेटिएको नाटक प्रदर्शन गरिएको थियो। नाटकमा घरभित्रको हेपाइ, बाटोमा साथीसँगको जिस्क्याइँ र विद्यालयमै आफूले सामना गरेका समस्याबारे शिक्षकले नसुन्दा विद्यार्थीले सामना गर्नुपरेको चुनौती र त्यसको मनोवैज्ञानिक प्रभावलाई उठाइयो।
कथानकअनुसार विद्यार्थीले साहस गरेर विद्यालयमा रहेको गुनासो पेटीकामा समस्या राखेपछि विद्यालयले समाधान प्रक्रिया अघि बढाउँछ र त्यसले सुरक्षित तथा सहज सिकाइ वातावरण निर्माणमा मद्दत पुग्ने सन्देश दिइएको थियो। नाटकपछि आयोजित अन्तरक्रियात्मक छलफलमा शिक्षक र विद्यार्थीहरूले आफ्नै विद्यालयमा पनि यस्ता सिकाइ आवश्यक रहेको धारणा राखे। शिक्षकहरूले विद्यार्थीको समस्या सुन्ने र सम्बोधन गर्ने संस्कृतिको विकास विद्यालय सुधारको आधार हुने भन्दै कार्यक्रमप्रति आभार व्यक्त गरे। विद्यार्थीहरूले भने नाटकमार्फत प्राप्त सिकाइ व्यवहारमा उतार्न सकिने विश्वास व्यक्त गरे।
प्रतिक्रिया