चार विद्यालयमा सुरक्षित र समावेशी सिकाइका लागि नाटक प्रदर्शन
दैलेख : सुरक्षित र समावेशी सिकाइ वातावरण प्रवर्द्धनका उद्देश्यले नारायण नगरपालिका–स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नारायण–३ कालीमाटी, रेडक्रस माध्यमिक विद्यालय, भुर्ती, वसन्त माध्यमिक विद्यालय, किमुगाउँ र सरस्वती माध्यमिक विद्यालय, तर्ताङ मा मंगलबार नाटक प्रदर्शन गरिएको छ। नाटक सोसेक नेपालद्वारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन कार्यक्रमअन्तर्गत नारायण नगरपालिकाको समन्वय तथा युनिसेफको आर्थिक सहयोगमा प्रस्तुत गरिएको हो।

नाटकमा विद्यालय तथा समुदायको सहभागितामूलक भूमिका, सुरक्षित सिकाइ वातावरणको आवश्यकता तथा विद्यार्थीले घर र समाजमा भोग्ने व्यवहारजन्य समस्या समेटिएको थियो। घरभित्रको हेपाइ, बाटोमा साथीसँगको जिस्क्याइँ, विद्यालयमै शिक्षकले समस्या नसुन्दा विद्यार्थीले सामना गर्नुपरेका चुनौती र त्यसले पार्ने मनोवैज्ञानिक प्रभावलाई नाटकमार्फत प्रस्तुत गरिएको थियो।
कथानकअनुसार, विद्यार्थीले विद्यालयमा रहेको गुनासो पेटीकामा समस्या राखेपछि विद्यालयले समाधान प्रक्रिया अघि बढाउँछ र यसले सुरक्षित तथा सहज सिकाइ वातावरण निर्माणमा सकारात्मक प्रभाव पार्ने सन्देश दिइएको थियो।
नाटकपछि आयोजित अन्तरक्रियात्मक छलफलमा शिक्षक र विद्यार्थीहरूले आफ्नै विद्यालयमा पनि यस्ता सिकाइ आवश्यक रहेको धारणा राखे। शिक्षकहरूले विद्यार्थीको समस्या सुन्ने र सम्बोधन गर्ने संस्कृतिको विकास विद्यालय सुधारको मुख्य आधार हुने उल्लेख गर्दै कार्यक्रमप्रति आभार व्यक्त गरे। विद्यार्थीहरूले भने नाटकमार्फत प्राप्त सिकाइ व्यवहारमा उतार्न सकिने विश्वास व्यक्त गरे।
प्रतिक्रिया