विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धि अभिमुखीकरण सम्पन्न
जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकामा विद्यालय व्यवस्थापन समितिलाई क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरपालिकाको वडा नम्बर –१ मा अवस्थित श्री मालिका आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा चन्दननाथमा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा विद्यालयमा सुशासनको प्रवर्द्धन र व्यवस्थापन पक्ष मजबुत बनाउने उद्देश्यले गरिएको कार्यक्रममा शिक्षा ऐन तथा सम्बन्धित नीतिहरूको व्यावहारिक कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो ।
अभिमुखीकरणमा विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष, समुदायको सहभागिता, विद्यालयको निर्माण तथा पूर्वाधार विस्तार, आर्थिक स्रोत खोजी र पारदर्शी खर्च व्यवस्थापनबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यालय सुधार योजना, कार्यविधि निर्माण, सामाजिक लेखापरीक्षण, गुनासो सुनुवाइ संयन्त्रको प्रभावकारीता तथा बालमैत्री पूर्वाधार व्यवस्थापनका विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको बिहानी परियोजनाले जनाएको छ । साथै विद्यालयमा लैङिक मैत्री वातावरण तथा जेन्डर फोकल पर्सनको भूमिकाबारे पनि विशेष जोड दिइएको थियो ।
कार्यक्रममा लेखा व्यवस्थापन, खर्च अनुमोदन प्रक्रिया र वित्तीय अनुशासन कायम राख्ने उपायहरूबारे समेत छलफल भएको जनाएको छ। समुदाय र विद्यालयबीचको सहकार्य एवं पारदर्शी व्यवस्थापनबाट मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने भन्दै सहभागीहरूले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया