पंचकोशी क्षेत्रको धार्मिक पर्यटन र पूर्वाधार विकासका लागि समिति गठन
दैलेख – पंचकोशी क्षेत्रको प्रचार, प्रसार तथा धार्मिक पर्यटन पूर्वाधार विकासका लागि आज तदर्थ समिति गठन गरिएको छ। नगर प्रमुख लोमन शर्मा को अध्यक्षतामा आयोजित कार्यक्रममा उप प्रमुख तप्ता थापा सहित विभिन्न सरोकारवाला प्रतिनिधिहरू उपस्थित थिए।
समग्र पंचकोशी क्षेत्रको विकासका लागि समिति नबिन योगी को संयोजकत्वमा गठन भएको छ। समितिमा नाभिस्थान, श्रीस्थान, धुलेश्वर, पादुका, तल्लो डुंगेश्वर र कोटिला मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरू, सम्बन्धित वडाका अध्यक्षहरू, उद्योग वाणिज्य संघ, गैसस, महासंघ, नागरिक समाज, पत्रकार महासंघ, यातायात व्यवसायी संघ र होटल व्यवसायी संघका प्रतिनिधिहरूलाई सदस्यको रूपमा राखिएको छ। साथै कृष्ण थापामगर, डिल्ली प्रसाद शर्मा, नन्द किशोर बस्नेत, मनकुमारी सुनार, कृष्ण दैलेखी र लोकेश गिरीलाई सरोकारवाला सदस्यका रूपमा समावेश गरिएको छ। सदस्य सचिवको जिम्मेवारी वखत नेपालीले सम्हाल्नेछन् भने आवश्यक परेमा विज्ञ सदस्यहरू थप मनोनीत गरिने व्यवस्था गरिएको छ।
समितिका संयोजक नबिन योगीले दैलेखको पंचकोशी क्षेत्र हिन्दू धर्ममा उल्लेखित शिव–शक्ति उपासनाको प्रमुख आधारभूमि भएको बताएका छन्। यहाँ रहेका गुफा, कुण्ड, शक्तिपीठ, देवालय र साधनास्थलहरूमा प्राचीनकालदेखि ऋषि–मुनी, योगी तथा साधकहरूले तपस्या गर्दै आएका छन्।
योगीका अनुसार “पञ्चकोशी” शब्द हिन्दू परम्परामा प्रचलित कोसी–परिधि अवधारणासँग सम्बन्धित छ। हिन्दू धार्मिक मान्यताअनुसार पवित्र क्षेत्रको परिक्रमा गर्दा पुण्य प्राप्ति, आत्मशुद्धि र आध्यात्मिक उन्नति हुने विश्वास रहेको छ।
समग्र विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, जनप्रतिनिधि, धर्मसँग सम्बन्धित संस्थाहरू र सरोकारवाला निकायहरूले सहयोग गर्न गम्भीर हुनुपर्ने उनको भनाइ छ। यस क्षेत्रको विकासले दैलेख र समग्र कर्णालीको धार्मिक पर्यटनमार्फत समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका अध्यक्ष नगर प्रमुख लोमन शर्माले समिति गठनको कार्य निकै सराहनीय भएको बताउँदै, आफ्ना तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया