३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमसहित दैलेखमा मनाइयो
बुधबार ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दैलेखमा विभिन्न कार्यक्रमसहित दिवस मनाइयो। शिक्षाका लागि राष्ट्रिय अभियान, सोसेक नेपाल, एभरेस्ट क्लब, पञ्चकोशी अपाङ्ग विकास मञ्च , पत्रकार महासंघ र गैसस महासंघ, दैलेखको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाहरूले जनाए। कार्यक्रममा सहभागीहरूले आफूले पाउनुपर्ने सेवा–सुविधा, सरकारी निकायमा पहुँचको समस्या, यातायातमा भोग्ने कठिनाइ लगायतका विषयमा अनुभव तथा माग राखेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक र सहज रूपमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। जिल्ला प्रशासन कार्यालयमा कुनै पनि अपाङ्गता भएका नागरिक सेवा लिन आएमा आफू तल नै झरेर सेवा दिने बताउँदै उनले यातायातमा बस भाडा छुट सुविधा सुनिश्चित गर्न सम्बन्धित निकायसँग छलफल गर्ने, विभिन्न पालिकामा अपाङ्ग मैत्री भवन निर्माणका विषयमा समन्वय गर्ने तथा सेवामा पहुँच सहज बनाउन प्रशासन सक्रिय रहने बताएका थिए। कार्यक्रमका सहभागीहरूले राखेका माग तथा सुझाव समेटिएको ज्ञापनपत्र पनि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो।
कार्यक्रममा शारीरिक रूपमा अशक्त पूर्णबहादुर नेपालीको जीवन–अनुभव समेत साझा गरियो। उनले हेयरकटिङ तालिम लिएर आफ्नै पसल सञ्चालन गरिरहेका छन् र हाल अन्य व्यक्तिलाई सीप सिकाएर रोजगारी सिर्जना गर्नेसम्म पुगेका छन्। उनीजस्तै केही सहभागीले राम्रो प्रगति गरेका भए पनि थुप्रै अपाङ्गता भएका व्यक्तिहरूले यातायातमा छुट नपाउने, सरकारी सेवामा सहज पहुँच नहुने र भवन तथा पूर्वाधार अपाङ्ग मैत्री नबन्दै आएको गुनासो राखेका थिए।

त्यसैगरी पञ्चकोशी अपाङ्गता विकास मञ्चका अध्यक्ष कमल खड्काले समाजमा अपाङ्गताको क्षेत्रमा पहिलेभन्दा अहिले धेरै प्रगति भएको बताए। केही अपाङ्गता भएका व्यक्तिहरूले व्यवसायमार्फत राम्रो आम्दानीसमेत गर्न थालेको बताउँदै उनले अझै यात्रा तथा विभिन्न सेवामा सहज पहुँच सुनिश्चित गर्न अपाङ्ग–मैत्री भवन निर्माण गर्नुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष राखेका थिए।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ मा मनाइन्छ। यस दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समान अवसर र सामाजिक सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्य राख्छ। नेपालमा भने यो दिवस सन् १९९३ देखि मनाइँदै आएको छ। नेपाल सरकारले अपाङ्गता अधिकार ऐन २०७४ मार्फत शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, भवन तथा यातायातमा पहुँच, रोजगारी लगायतका अधिकार सुनिश्चित गरे पनि व्यवहारमा अझै धेरै सुधार आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले उल्लेख गरे।
प्रतिक्रिया