सिताके च्याउ उत्पादनमा दैलेखका नगेन्द्र खड्का सफल व्यवसायीको रूपमा स्थापित
दैलेख –“मानिसले गरेपछि के हुँदैन र” – दुल्लु नगरपालिका–७ निवासी नगेन्द्र वहादुर खड्का अहिले यही भनाइलाई आफ्नो सफलताले प्रमाणित गरेका छन्। कपडा व्यापारदेखि इन्टरलक इट्टा उत्पादनसम्मका अनुभव संगालेका खड्का पछिल्ला वर्षमा सिताके च्याउ उत्पादनमा लागेर सफल व्यवसायीका रूपमा परिचित भएका छन्।
२०७७ सालदेखि च्याउखेतीमा प्रवेश गरेका खड्काले हालसम्म करिब ८ सयदेखि ९ सय किलोसम्म च्याउ उत्पादन र बिक्री गरिसकेका छन्। दुल्लु नगरपालिका–४ बाट सुरु गरिएको च्याउखेती अहिले नगरपालिका–७ मा समेत विस्तार गरिएको छ। नयाँ स्थानमा पनि केही दिनमै उत्पादन सुरु हुने उनले जानकारी दिए।
व्यवसाय विस्तार र सरकारी सहयोग
नेपालमा ‘मृगे च्याउ’ भनेर चिनिने सिताके च्याउ खेतीमा दुल्लु नगरपालिकाको तर्फबाट प्राप्त अनुदान र विदेशी प्राविधिक निरीक्षणले आफू प्रोत्साहित भएको खड्काको भनाइ छ। दुल्लु नगरपालिकाले च्याउखेती सम्बन्धी व्यावसायिक तालिम सञ्चालन गर्दा उनी सहभागी भएका थिए। तालिमपछि व्यवस्थित रूपमै च्याउ उत्पादन सुरु गरेको उनले बताए।
काठको मुढामै उब्जने च्याउ
पूर्वी एसियाबाट आएको यो च्याउ नेपालमा मुख्यतः काठको मुढा प्रयोग गरी खेती गरिन्छ। उतिस, डाले कटुसलगायत दार काठमा स–साना प्वाल बनाई बिउ राखेर उत्पादन गरिन्छ। बिउ राखे पछि करिब ८ महिनामा च्याउ फल्न सुरु हुन्छ र एउटै मुढाबाट ३–६ वर्षसम्म उत्पादन लिन सकिन्छ।

कम लगानी—धेरै फाइदा
खड्काका अनुसार सिताके च्याउ व्यवसाय कम लगानीमा धेरै फाइदा लिन सकिने उत्पादन हो। सुरुवाती चरणमा वजार बनाउन उनले निःशुल्क च्याउ वितरण गर्दै ग्राहक आकर्षित गरेका थिए। अहिले भने वजारको माग अनुसार उत्पादन पुर्याउन कठिन परेको उनको अनुभव छ।
कर्णाली प्रदेशका जाजरकोट र छेडागाडमा पनि उनी प्राविधिक सीप दिन पुगेका थिए। त्यहाँका किसान अहिले व्यावसायिक रूपमा च्याउ उत्पादन गरिरहेका छन्। स्थानीय बजार सानो भएकोले नेपालगन्ज स्थित भाटभटेनीमार्फत होलसेल वजारिकरण भइरहेको उनले बताए।
स्वास्थ्यका फाइदा र सावधानी

खड्का भन्छन्, “च्याउ प्रोटीन, फाइबर र खनिजले भरिपूर्ण हुन्छ। मासु नखाने वा कम खानेका लागि यो उत्कृष्ट विकल्प हो।”तर च्याउ पकाउँदा टिमुर, लसुन, पुदिनाजस्ता मसलाको प्रयोग र राम्रोसँग पकाएर उपभोग गर्नुपर्ने उनले सुझाव दिए।उनका अनुसार अन्य च्याउ र विषालु प्रजातिहरूसँग भ्रम हुने गरी “जानी–नजानी” मिसाएर खानु कहिल्यै राम्रो हुँदैन।
स्थानीय सरकारको भूमिकामा बल
स्थानीय सरकार र सामाजिक संघ–संस्थाले किसानलाई प्रोत्साहन गर्ने नीति ल्याए च्याउ पकेट क्षेत्र बनाउन सकिने खड्काको भनाइ छ। “उत्पादन कमै भए पनि यसको माग धेरै छ। रोजगारीमूलक व्यवसाय भएकाले स्थानीय सरकारले प्राथमिकताका साथ प्रवर्द्धन गरे दैलेखमा च्याउखेती राम्रो सम्भावना बोकेको क्षेत्र बन्न सक्छ,” उनले भने।स्थानीय उद्यमशीलता र आधुनिक कृषि प्रविधिप्रति सजग किसानहरूको आकर्षण बढ्दै गएको वर्तमान अवस्थामा, दैलेखका नगेन्द्र खड्का सिताके च्याउ उत्पादनमार्फत अनुकरणीय उद्यमीका रूपमा स्थापित भएका छन्।
प्रतिक्रिया