डिजिटल माध्यमबाट हुने लैंगिक हिंसा विरुद्ध कर्णालीका युवाहरूको सडक नाटक
सुर्खेत : कर्णालीका युवाहरूले डिजिटल माध्यमबाट हुने लैंगिक हिंसा विरुद्ध आवाज उठाउँदै बिरेन्द्रनगरको व्यस्त सडकमै प्रभावकारी सडक नाटक प्रस्तुत गरेका छन्। ‘१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान’ अवसरमा गरिएको यो प्रस्तुतीकरणले अनलाइन सुरक्षा, जिम्मेवार डिजिटल व्यवहार र पीडितप्रति समर्थनको सन्देश फैलाएको छ।
यो कार्यक्रम सशक्त महिला, समृद्ध नेपाल नामक कार्यक्रम अन्तर्गत सोसेक नेपाल द्वारा कर्णाली प्रदेश सरकार तथा बिरेन्द्रनगर नगरपालिकाको समन्वयमा आयोजित गरिएको थियो। सो कार्यक्रम युुराेपियन युनियन र सयुक्त राष्टसंघिय निकायहरुकाे सयुक पहलमा सञ्चालन हुँदै आएको छ।

सडक नाटक हेर्न ५०० भन्दा बढी सर्वसाधारण बाटोमै रोकिएर सहभागी भए। नाटकमा युवाहरूले अनलाइनमा हुने दुर्व्यवहार, अपमानजनक टिप्पणी, फेक खातामार्फत हुने बदनियतपूर्ण गतिविधि, निजी तस्वीर दुरुपयोग, धम्की, ह्याकजस्ता डिजिटल माध्यमबाट हुने हिंसाका रूपहरू प्रस्तुत गरे।
युवाहरूले नाटकमार्फत यस्तो सन्देश दिएका थिएः“हरेक स्क्रिन र प्रोफाइल तस्वीर पछाडि एउटा मानिस हुन्छ— जसका भावना, सम्मान र अधिकार हुन्छन्।
आवाज उठाऔँ, पीडितलाई साथ दिऔँ। मौन नबसौँ। हिंसा सहनुपर्दैन। अनलाइनमा पनि सुरक्षित र जिम्मेवार नागरिक बनौँ।”

आयोजकका अनुसार, यो प्रस्तुतीकरणले सार्वजनिक स्थानमा युवाहरूको नेतृत्व, जागरण क्षमता र डिजिटल वातावरणलाई सुरक्षित बनाउने उनीहरूको भूमिकालाई स्पष्ट रूपमा देखाएको छ।
प्रतिक्रिया