विपन्न बालबालिकाका लागि हिमालय माविको आवासीय विद्यालय अभियान, सहयोगको माग
दैलेख – चामुण्डा बिन्द्रासैनी नगरपालिका–१, तीजको डाँडामा अवस्थित श्री हिमालय माध्यमिक विद्यालयले आवासीय विद्यालय सञ्चालनका लागि सहयोग जुटाउन सबै सरोकारवालासमक्ष अपिल गरेको छ। आर्थिक–सामाजिक रूपमा कमजोर परिवारका बालबालिकाको भविष्य सुरक्षित गर्न विद्यालयले सुरु गरेको यो अभियान अहिले स्थानीय समुदायमा महत्वपूर्ण विषय बनेको छ।
२०४४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म पढाइ हुने गर्दछ। विद्यालयको सेवा क्षेत्रमा दलित, जनजाति तथा विपन्न समुदायका परिवारहरू बसोबास गर्छन्। यहाँका अभिभावकहरूको ठूलो संख्या वर्षेनी भारततिर सिजनल मजदुरी गर्न जाने गर्दछन। समस्या यतिमै सीमित छैन—अभिभावकसँगै साना बालबालिकासमेत भारत जान बाध्य हुने गरेका छन्। उनीहरू प्रायः कार्तिक–मंसिरपछि मात्र गाउँ फर्कने हुँदा कक्षा छुट्ने, सिकाइ कमजोर हुने र विद्यालय जीवनमै पछि पर्न बाध्य हुने अवस्था लामो समयदेखि दोहोरिँदै आएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका अनुसार अभिभावकहरूले वर्षभर कठोर मेहनत गरे पनि परिवारका लागि ‘तीन महिना सम्म खान पुग्ने’ आम्दानी जुटाउन पनि कठिन हुने अवस्था छ। “आर्थिक हैसियत कमजोर, शिक्षा प्रतिको चेतना कमजोर, र समाज–राजनीति तथा पहुँचसम्बन्धी कमजोरी‘ यी सबैले गर्दा बालबालिकाहरू पछाडि परिरहेका छन्,” विद्यालयका प्रधानाध्यापक हर्कबहादुर बिकले बताए ।
आवासीय विद्यालय : भविष्य बदल्ने सम्भावना
विद्यालयले आवासीय कार्यक्रम सञ्चालन गर्न सकेमा कमजोर वर्गका बालबालिकालाई सुरक्षित, नियमित र परिचालित सिकाइ वातावरण दिन सकिने विश्वास राखेको छ। सिजनल मजदुरीका कारण वर्षैभर पढ्न नपाउने समस्या समाधान गर्न “आवासीय मोडेल नै स्थायी उपाय” हुनसक्ने विद्यालयको भनाइ छ।
प्रधानाध्यापक बिकका अनुसार नियमित सिकाइ वातावरण पाए उनीहरूको शैक्षिक स्तर चमत्कारिक रूपमा वृद्धि हुने सम्भावना छ। “हामीसँग बालबालिकाका सपनाहरू छन्, उनीहरूको भविष्य बदल्ने दृढ इच्छा छ—तर स्रोत भने अत्यन्त न्यून छ,” उनले भने।
हाल विद्यालयमा कुनै स्थायी आयस्रोत छैन। निजी स्रोतका शिक्षकलाई नियमित तलब दिन पनि मुस्किल भइरहेको अवस्था छ। माध्यमिक कक्षा सञ्चालन गर्दा विद्यालय अझै पनि प्राथमिक तहको दरबन्दीमै निर्भर रहन बाध्य छ। यस्तो अवस्थामा थप संरचना निर्माण, आवासीय भवन, ओछ्यान, भान्सा तथा कर्मचारी व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण रहेको विद्यालयको भनाइ छ।
सहयोगका लागि अपिल
यही कारणले विद्यालयले देश विदेशका सहयोगी हात, समाजसेवी, दाता, संघ–संस्था, स्थानीय निकाय तथा समुदाय सबैलाई ‘सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव’ हुने भन्दै खुलेर अपिल गरेको छ।
विद्यालयले आवासीय विद्यालयका लागि निम्न क्षेत्रहरूमा सहयोग माग गरेको छ—आर्थिक सहयोग ,भवन निर्माण सहयाेग ,छात्रवृत्ति, अन्न–वस्त्र, खाद्यान्न सहयोग,फर्निचर, लत्ताकपडा, सरसफाइ सामग्री,शैक्षिक तथा तल्लो तहका कर्मचारी प्रायोजन,पाठ्यसामग्री तथा सामग्रीगत सहयोग विद्यालय प्रशासनका अनुसार यहाँका बालबालिकाको सपना ठूलो छ, तर अवसर भने सानो, त्यसैले यो अभियान दया होइन, “न्यायपूर्ण अवसर निर्माण” को पहल भएको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले जारी गरेको अपिलमा भनिएको छ ।“हामी कुनै व्यक्तिको नाममा होइन, ‘भविष्य निर्माण’ अभियानमा सहयोगी बन्ने सबै दयालु मनहरूलाई आह्वान गर्छौँ। तपाईंले दिनु भएको सानो सहयोगले पनि दर्जनौँ बालबालिकाको जीवनमा उज्यालो भरिन सक्छ।”
विद्यालयका शिक्षकहरूका अनुसार चामुण्डा–१ क्षेत्रका धेरै बालबालिकाले विद्यालय छोड्ने जोखिम धेरै छ। अभिभावकको अभाव र आर्थिक कमजोरीका कारण उनीहरू सिकाइबाट टाढिन सक्ने भन्दै विद्यालयले सामूहिक प्रयास आवश्यक रहेको बताएको छ। “हामीसँग हिम्मत छ, अभियान छ, तर स्रोत अपर्याप्त छ। भविष्य बदल्ने यो प्रयासमा सहयोगी हातहरू जोडिए बालबालिकाको सिकाइ जीवनमै नयाँ अध्याय सुरु हुनेछ।
स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया
विद्यालयको यो पहलपछि स्थानीय बासिन्दा, अभिभावक र केही सामाजिक अभियन्ताले सकारात्मक समर्थन जनाएका छन्। उनीहरूले विपन्न परिवारका बालबालिकाको भविष्य र सुरक्षित सिकाइ वातावरणका लागि आवासीय विद्यालय प्रभावकारी हुनसक्ने बताउँदै सहयोग जुटाउन सबैलाई आह्वान गरेका छन् ।
प्रतिक्रिया