६५ वर्षीय थापाको सफल जैविक खेती, तरकारीबाट एक सिजनमा करिब २ लाख आम्दानी

६५ वर्षीय थापाको सफल जैविक खेती, तरकारीबाट एक सिजनमा करिब २ लाख आम्दानी

दैलेख : दुल्लु नगरपालिका–२ तरियाका ६५ वर्षीय कर्णबहादुर थापा हाल दैलेखका नमूना अर्गानिक किसानका रूपमा स्थापित हुँदैछन्। ‘डिसिए नेपाल’को आर्थिक सहयोग तथा ‘सोसेक नेपाल’द्वारा सञ्चालित ग्रिन कर्णाली परियोजना तथा दुल्लु नगरपालिकाको सहाकार्य सँग जोडिएपछि उनी बेमौसमी तरकारी उत्पादनमा अझ सशक्त रूपमा अघि बढेका हुन्।

तरिया बेमौसमी तरकारी उत्पादन कृषक समूहका सक्रिय सदस्य थापा विगत केही वर्षदेखि आफ्नै ८ रोपनी जग्गामा व्यवस्थित तरकारी खेती गरिरहेका छन्। उनका खेतमा अहिले काउली, ब्रोकाउली, बन्दा, मुला, रायोको साग, सिमी, गोलभेंडा र टमाटरसहित विभिन्न मौसमी तथा बेमौसमी तरकारी भरपूर मात्रामा उत्पादन भइरहेको छ।

परियोजनामार्फत उनले भकारो सुधार, कच्ची र पक्की प्लास्टिक टनेल, साधारण थोपा सिँचाइ, झोल मल तयार गर्न प्लास्टिक ड्रम तथा सिजनअनुसारको गुणस्तरीय बीउजस्ता सामग्री तथा प्रविधि प्राप्त गरेका छन्। आधुनिक प्रविधिको प्रयोग र नियमित प्राविधिक सहजीकरणका कारण उनको उत्पादन विगतको तुलनामा उल्लेख्य रूपमा बढेको स्थानीय कृषकहरूको मूल्यांकन छ।


थापा वर्षभरि तरकारी बिक्री गरी एक सिजनमा करिब २ लाख रुपैयाँ बराबरको आम्दानी गर्छन्। रासायनिक मल प्रयोग नगरी पूर्ण जैविक विधिबाट तरकारी उत्पादन गर्ने उनी स्वयम् तयार गरेको जैविक मल तथा जैविक झोल मल १, २ र ३ प्रयोग गर्छन्।

“माटोको उर्वरता टिकाइराख्न जैविक मल नै उत्कृष्ट हो। यसले उत्पादन गुणस्तरीय पनि बन्छ,” थापाले बताए । उनका अनुसार ग्रिन कर्णाली परियोजनाले उत्पादनसँगै बजार व्यवस्थापन, जैविक खेती प्रवर्द्धन, रोग–कीरा व्यवस्थापन तथा आय–आर्जन वृद्धि सम्बन्धी आवश्यक तालिम र सीप उपलब्ध गराएको छ।

आउँदो वर्ष थप टनेल जडान गरी गोलभेंडा र काक्रोको व्यावसायिक उत्पादन विस्तार गर्ने उनको योजना छ। स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूका अनुसार उमेरको सीमा नभई श्रम, लगनशीलता र आधुनिक प्रविधिको सहज प्रयोगले सफलता सम्भव हुन्छ भन्ने प्रेरणा कर्णबहादुर थापाले आफ्नै जीवनमार्फत समुदायलाई देखाएका छन् ।

प्रतिक्रिया