चार विद्यालयमा अनुगमन : सहयात्रा तेस्रो परियोजनाले शिक्षा सुधारमा सकारात्मक प्रभाव

चार विद्यालयमा अनुगमन : सहयात्रा तेस्रो परियोजनाले शिक्षा सुधारमा सकारात्मक प्रभाव

दैलेख – चामुण्डा विन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालन भइरहेको ‘सहयात्रा तेस्रो परियोजना’ मार्फत विद्यालयहरूमा बालमैत्री वातावरण निर्माण, बसाइ व्यवस्थापन, सिकाइ निरन्तरता, आयआर्जन कार्यक्रम तथा शिक्षक–अभिभावक क्षमता अभिवृद्धिजस्ता गतिविधिहरू निरन्तर अगाडि बढिरहेका छन्। परियोजनाअन्तर्गत निर्माण गरिएका बालमैत्री तथा अपाङ्गतामैत्री संरचना, विद्यालयको भौतिक अवस्था तथा सिकाइ वातावरणको अनुगमन सोमबार सम्पन्न गरिएको हो।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी आनन्द सारू, जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, नगरपालिकाका प्रमुख गणेश कुमार शाही, उपप्रमुख मनसरा शर्मा, नगरपालिका इन्जिनियर, योजना शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, पालिका कर्मचारी, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा तथा कार्यक्रम व्यवस्थापकसहितको सहभागिता थियो। टोलीले जनता माध्यमिक विद्यालय ६ लाइनचौर , विन्द्रासैनी माध्यमिक विद्यालय वडा–८, आन्द माध्यमिक विद्यालय वडा–१ सिमसेर र हिमालय माध्यमिक विद्यालय वडा–१ तिजको डाँडामा स्थलगत अवलोकन गरेको थियो।

शिक्षक अभाव, प्रविधि प्रयोग र शौचालय पहुँच चुनौती

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी सारूले धेरै विद्यालयमा शिक्षकको कमी रहेको, विद्यार्थी–शिक्षक अनुपात सन्तुलित नभएकाले सिकाइमा असर परिरहेको बताए। उनले कतिपय विद्यालयमा विद्यार्थीका लागि ल्याइएका कम्प्युटर प्रयोगमै नआएको देखिएको भन्दै तत्काल सिकाइमा समावेश गर्न निर्देशन दिए।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले विशेषगरी साना कक्षाका बालबालिकाका लागि शौचालय टाढा हुनु समस्या भएको उल्लेख गर्दै बालमैत्री र सहज पहुँच हुने संरचना निर्माणमा ध्यान दिन सुझाव दिए।

पालिका प्रमुख गणेश कुमार शाहीले भने : “विद्यालयको भौतिक संरचना, सिकाइ वातावरण र शैक्षिक गुणस्तर सुधार हाम्रो प्राथमिकतामा छ। अनुगमनमा देखिएका कमी–कमजोरीलाई तत्काल सुधार गर्नेछौँ। आगामी दिनमा पनि विद्यालयहरूलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउँदै जाने छौँ।”

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले भने :“विद्यालय सुधारका कार्यक्रमहरूमा सहकार्य गर्दै आउन पाउँदा हामी खुसी छौँ। विद्यार्थी–मैत्री वातावरण, स्वच्छता, सिकाइ सामग्री र प्रविधिको पहुँच अझ विस्तार गर्न स्थानीय तहसँग सहकार्य निरन्तर रहनेछ।”

हिमालय माध्यमिक विद्यालय स् सुधारको उदाहरण

अनुगमनमा हिमालय माध्यमिक विद्यालयमा पछिल्ला वर्षमा उल्लेखनीय सुधार देखिएको छ। पहिले पानी पर्नासाथ कक्षाकोठा चुहिने, धुलोबाट सिकाइमा समस्या पर्ने, खानेपानी र शौचालयको अभावजस्ता चुनौतीहरू थिए। सोसेक नेपाल, सेभ द चिल्ड्रेन र पालिकाको सहकार्यपछि सुरक्षित खानेपानी, शौचालय, भवन मर्मत र परिसर हरियालीकरण पूरा भई विद्यालय सिकाइमैत्री बन्दै गएको छ।

विद्यालयले खाली जग्गामा तरकारी खेती, बन्दा–सुन्तला र विविध बिरुवा रोपेर वातावरणलाई स्वच्छ र आकर्षक बनाएको छ। प्रधानाध्यापक हर्क विकका अनुसार च्याउ खेती, ‘पढ्दै कमाउँदै कार्यक्रम’, शिक्षक तालिम र सीपमूलक गतिविधिद्वारा शिक्षाको गुणस्तर सुधार गर्ने योजना अघि बढाइएको छ।

भारत रोजगारीको प्रभाव

विद्यार्थीहरूको ठूलो हिस्सा दलित, जनजाति र आर्थिक रूपमा कमजोर परिवारका हुन्। अभिभावकहरू भारत रोजगारीमा लैजाने प्रवृत्तिले छात्र–छात्रा नियमित रूपमा विद्यालय आउन नसक्ने समस्या आइरहेको विद्यालय प्रशासनको भनाइ छ।

अनुगमन टोलीले ‘सहयात्रा तेस्रो परियोजना’ले विद्यालयमा देखिएका सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पालिका, विद्यालय र साझेदार संस्थाबीच सहकार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।

प्रतिक्रिया