लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत -  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -२ स्थित  आनन्द माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारीमा, वीरेन्द्रनगर नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा  लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । वीरेन्द्रनगरका विभिन्न टोलका महिला–पुरुष स्थानीय बासिन्दाको सहभागितामा आयोजित कार्यक्रममा ३७ जना उपस्थित रहेका थिए ।

कार्यक्रमको उद्देश्य लैङ्गिक हिंसा सम्बन्धी सचेतना बढाउने तथा समुदायमा देखिने लैङ्गिक विभेद र हिंसालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने रहेको बिहानी परियोजनाले जनाएको छ ।

कार्यक्रममा सहभागीहरूबीच लैङ्गिक हिंसा के हो, किन हुन्छ, यसका प्रकार र प्रभावहरू के–के छन् भन्ने विषयमा विस्तृत छलफल गरिएको परियोजनाले जनाएको छ । शारीरिक, सामाजिक, यौनिक र आर्थिक हिंसाका विभिन्न रूपहरूमाथि उदाहरणसहित व्याख्या समेत गरिएको थियो ।

यसबाहेक, लैङ्गिक असमानता, सामाजिक मूल्य–मान्यता, पितृसत्तात्मक सोच, गरिबी, शिक्षाको अभाव, आर्थिक निर्भरता, बालविवाह र दाईजो प्रथा जस्ता कारणहरू लैङ्गिक हिंसाका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको थियो ।

रोकथामका उपाय अन्तर्गत पुरुष तथा बालकहरूको सक्रिय सहभागिता, विद्यालय र समुदायमा सुरक्षित वातावरण निर्माण, समुदाय–स्तरबाट निरन्तर सचेतना, शिक्षा तथा क्षमता विकासका कार्यक्रमहरू प्रभावकारी माध्यम हुनेमा सहमति जनाइएको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया