लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

ठाटीकाँधमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

दैलेख -    “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित २४ नोभेम्बरदेखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान  समापन गरिएको छ।

अभियानको अन्तिम दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा मानव अधिकारको सम्मान, समानता, र हिंसा रहित न्यायपूर्ण समाज निर्माण सबैको जिम्मेवारी भएको सन्देश दिएर विविध कार्यक्रम सम्पन्न गरिएको हो ।

 ठाटीकाँध गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा, सोसेक नेपाल र एभरेष्ट क्लब दैलेखको सहकार्यमा आयोजित कार्यक्रम शाखा प्रमुख गिता नेपालीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्याय प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा प्रतिनिधि, माध्यमिक विद्यालयका शिक्षक-शिक्षिका, लकान्द्रास्थित स्वास्थ्य प्राथमिक केन्द्रका कर्मचारी, ईलाका प्रहरी चौकी लकान्द्रका प्रमुख तथा प्रहरी प्रतिनिधिहरू, विद्यालयका विद्यार्थी तथा सहकार्य संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।

अभियानको प्रभावकारीता वृद्धिका लागि लैङ्गिक हिंसा न्यूनीकरण शीर्षकमा बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । पाँचवटा माध्यमिक विद्यालयका १० जना विद्यार्थीले प्रतिस्पर्धा गरेको सहकार्य परियोजनामा कार्यरत मनोविमर्शकर्ता तारा आचार्यले जानकारी दिइन् ।

उनका अनुसार प्रतियोगिताका विजेताहरूमा  प्रथम मिना कमारी शाही श्री कृष्ण माध्यमिक विद्यालय, द्वितीय स्थानमा सृष्टि शाही श्री भवानी माध्यमिक विद्यालय, तृतीय स्थानमा सविना रोकाया श्री मालिका माध्यमिक विद्यालय रहेकी थिइन् । 

यस कार्यक्रमले समुदायमा लैङ्गिक हिंसाबारे सचेतना अभिवृद्धि गर्दै सबै व्यक्तिको आत्मसम्मानसहित बाँच्न पाउने अधिकार सुनिश्चित गर्न एकजुट हुनु आवश्यक भएको संदेश दिएको बताइएको छ ।

प्रतिक्रिया