जोखिममा रहेका बालबालिकालाई सोसेक नेपालद्वारा शैक्षिक सामग्री वितरण
दैलेख :अभिभावकविहीन तथा लैङ्गिक हिंसाबाट प्रभावित बालबालिकालाई सोसेक नेपालले शैक्षिक सामग्री वितरण गरेको छ। बुधबार सोसेक नेपालद्वारा सञ्चालित महिला तथा बालबालिका केन्द्र (सेफ हाउस) र बाल हेल्पलाइन १०९८ बाट सेवा लिइरहेका बालबालिकालाई ‘गर्ल्स म्याटर’ परियोजनाको सहयोगमा सामग्री प्रदान गरिएको हो।प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाको रोहवरमा सम्पन्न कार्यक्रममार्फत विभिन्न पालिकाका १३ जना बालक र १६ जना बालिका सहित जम्मा २९ जना बालबालिका मध्य आज २२ जनालाइ वितरण गरीएको छ ।
नारायण नगरपालिका, ठाँटीकाँध गाउँपालिका र भैरवी गाउँपालिकाका बालबालिकालाई सामग्री वितरण गरिएको सेफ हाउस संयोजक रमा श्रेष्ठले जानकारी दिइन । उनका अनुसार “नारायणमा १० जना, भैरवीमा ६ जना र ठाँटीकाँधमा ६ जना गरी २२ जनालाई आज वितरण गरियो। बाँकी बालबालिकालाई भोलि र पर्सि वितरण गर्ने योजना छ।

शैक्षिक सामग्री झोला, कापी, डटपेन लगायतका सामग्री पाएपछि बालबालिकाहरू निकै उत्साहित भएका छन्। सामग्री अभावका कारण विद्यालय जान समेत समस्या हुने गरेको उनीहरूले बताए। “अब चाहिँ सहज रूपमा स्कुल जान पाइने भयो,” बालबालिकाले खुशी व्यक्त गरे। नारायण नगरपालिका–७, बिजौराकी अमृता विश्वकर्माले सामग्री प्राप्त गरेपछि आफ्नो कठिन परिस्थिति बताइन्।
“पहिले त आर्थिक अवस्था ठिकै थियो, तर श्रीमान नभएपछि अहिले अवस्था धेरै कमजोर छ। आर्थिक अभावकै कारण छोराछोरीलाई पढाउन समस्या भइरहेको छ। कापी–डट नहुँदा कतिपय दिन त मेरा छोराछोरी स्कुल जान समेत पाएनन्। सोसेक नेपालले शैक्षिक सामग्री दिएपछि अब केही महिनाका लागि भए पनि सहज हुने भयो,” अमृताले भनिन्। सोसेक नेपालले लामो समयदेखि विपन्न, जोखिममा परेका तथा हिंसाबाट प्रभावित बालबालिकालाई शिक्षा, सुरक्षा र मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ।
प्रतिक्रिया