‘सहयात्रा तेस्रो परियोजना’को बार्षिक समीक्षा सम्पन्न

विद्यालयहरू बालमैत्री तथा सिकाइमैत्री बन्दै

‘सहयात्रा तेस्रो परियोजना’को बार्षिक समीक्षा सम्पन्न

दैलेख -   दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको वार्षिक समीक्षा गरिएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाको समन्वय सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालन भइरहेको ‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत विद्यालयमा बालमैत्री वातावरण निर्माण, बसाइ व्यवस्थापन, सिकाइ निरन्तरता, आयआर्जन कार्यक्रम तथा शिक्षक–अभिभावक क्षमता अभिवृद्धिजस्ता कार्यहरू प्रभावकारी रूपमा अगाडि बढिरहेका छन् । परियोजनाअन्तर्गत निर्माण भएका संरचना, विद्यालयको भौतिक अवस्था र सिकाइ वातावरणको अनुगमनबारे वार्षिक समीक्षा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नमराज शाहीले विद्यालय स्तरमा देखिएका प्रगति र चुनौतीहरूबारे प्रस्तुत गर्दै परियोजनाले समुदाय र विद्यालयबिचको सहकार्यलाई थप मजबुत बनाएको बताए । उनले सोसेक नेपालको पारदर्शी कामको प्रशंसा गर्दै जिम्मेवारीअनुसार सबै तहले जनताको हितमा कार्य गर्नुपर्ने बताए।  शाहिले भाषण होइन, व्यवहारमा परिवर्तन ल्याउँदै शिक्षा क्षेत्रमा सुधारको मार्ग खुल्ने बताए। साथै उनले शिक्षाको अवस्था सुधारमा स्थानिय सरकार अगसर हुनुपर्ने बताए ।

समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारूले धेरै विद्यालयमा शिक्षकको कमी हुँदा विद्यार्थी–शिक्षक अनुपात असन्तुलित बनेको र यसले सिकाइमा प्रत्यक्ष असर पारेको धारणा राखेका थिए ।

 

नगर प्रमुख गणेश कुमार शाहीले विद्यालयहरूको भौतिक संरचना, सिकाइ वातावरण र शैक्षिक गुणस्तर सुधार नगरपालिकाको मुख्य प्राथमिकता रहेको बताए । उनले भने, “अधुरा भवन, शौचालय र आवश्यक संरचना निर्माणमा नगरपालिका प्रतिबद्ध छ। अनुगमनमा देखिएका कमजोरी तत्काल सुधारिन्छन्।” शाहीले भने "विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन अभियान चलाइरहेको जानकारी दिए । भारत जानुपर्ने बाध्यताका कारण धेरै बालबालिका पनि अभिभावकसँगै जाने र विद्यालयबाहिर रहने समस्या बढेको उल्लेख गर्दै उनले अभिभावकलाई निरन्तर सचेत गराइरहेको बताए। "

 

 परियोजनालाई पालिकाले “हाम्रो कार्यक्रम” भन्ने मानसिकतासहित अगाडि बढाउनुपर्ने बताए। उनले महिला हिंसा, छाउपडी, छुवाछुतजस्ता कुरीतिहरू त्याग्दै समुदायमा सकारात्मक परिवर्तन गर्न सबैको सहकार्य आवश्यक रहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले बताए।

 

परियोजना लागू हुनुअघि धेरै विद्यालयमा वर्षात्पछि कक्षाकोठा चुहिने, धुलो, खानेपानी र शौचालयको अभावजस्ता चुनौतीहरू थिए। सोसेक नेपाल द्धारा सञ्चालित सहयात्रा परियोजना, सेभ द चिल्ड्रेन र पालिकाको सहकार्यपछि सुरक्षित खानेपानी, शौचालय, भवन मर्मत र हरियालीकरणले विद्यालयहरू सिकाइमैत्री बन्दै गएको  छ।  उपप्रमुख मनसरा कुमारी शर्माले अनुगमनलाई निरन्तर तिव्रता दिने र विद्यालय सुधारमा सबैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन् ।

 

परियोजनाका मुख्य उपलब्धि

पालिकास्तरमा १, वडास्तरमा ९ र विद्यालयस्तरमा १९ बाल क्लब गठन भई नेतृत्व तथा क्षमता विकासका गतिविधिहरू सञ्चालन भइरहेका छन्। परियोजनाले पछिल्लो वर्षमा उल्लेख्य उपलब्धि हासिल गरेको छ। मुख्य उपलब्धिमा जोखिममा रहेका बालबालिकाको राहत तथा पुनर्स्थापनाका लागि रु। २९ लाखको बाल कोष स्थापना, १ हजार ३३९ किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी जानकारी, १८ स्वास्थ्य रूपान्तरण कक्षा, २ विद्यालयमा किशोरमैत्री कक्षा सञ्चालन गरिएको थियो । 

त्यस्तै २ स्वास्थ्य संस्थामा किशोरमैत्री सूचना केन्द्र स्थापना, ८ बाल विकास केन्द्रमा खेल तथा सिकाइ सामग्री, ४ मा टेलीलर्निङ् कर्नर, विद्यालयबाहिर रहेका १५ मध्ये १३ बालबालिका विद्यालयमा भर्ना, ३० विद्यालयमा कक्षाअनुसार शैक्षिक सामग्री वितरण, १४ विद्यालयका २९ कक्षाकोठा मर्मत तथा रंगरोगन, ४ शौचालय र ३ खानेपानी संरचना निर्माण, ४०५ जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण, ४५ कक्षाकोठामा बालमैत्री बसाइ व्यवस्थापन (कार्पेट, पीफम, राउन्ड टेबल, कुशन) रहेका छन् । 

परियोजनाले आगामी वर्षमा विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि, बालबालिकामाथि हुने हानीकारक अभ्यास न्यूनीकरणका लागि समुदायस्तरका कार्यक्रम, बालमैत्री स्थानीय शासन वडा घोषणा, सुरक्षित तथा संरक्षित विद्यालय निर्माणमा सहयोग, नमुना विद्यालय र नमुना वडा बालअधिकार समिति स्थापना, विशेष संरक्षण आवश्यक बालबालिकाको विद्यालय नियमितता सुनिश्चितता जस्ता लक्ष्यहरू प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया