किसानसँग प्रत्यक्ष अन्तरक्रिया, दुल्लुमा कृषि सामग्री वितरण

किसानसँग प्रत्यक्ष अन्तरक्रिया, दुल्लुमा कृषि सामग्री वितरण

दैलेख : दुल्लु नगरपालिका–३ पिरु सियालामा बिहीबार कृषि क्षेत्र सुदृढीकरणका उद्देश्यले किसानसँग प्रत्यक्ष अन्तरक्रिया, स्थलगत अनुगमन तथा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। दुल्लु नगरपालिका दैलेखको समन्वयमा, डिसिए नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालद्वारा सञ्चालित ‘ग्रिन कर्णाली परियोजना’ मार्फत कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रममा दुल्लु नगरप्रमुख भरतप्रसाद रिजाल, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, परियोजना संयोजक पुष्करप्रसाद शर्मा लगायतका प्रतिनिधिहरूले विभिन्न कृषक समूहका गतिविधिको अवलोकन गर्दै किसानसँग प्रत्यक्ष संवाद गरेका थिए। पानलोटा टुडिखेल, मष्टा नारायण, नाउलि सियाला, तरिया बेमौसमी तरकारी तथा शान्ति भैरव कृषक समूहमा सञ्चालन भएका तरकारीखेती, भकारो सुधार, च्याउखेती, मौरीपालन, गड्यौला मल उत्पादन, झोल मल, माटो–सिमेन्ट पोखरी तथा प्लास्टिक टनेलजस्ता गतिविधिहरूको विस्तृत अनुगमन गरिएको थियो।

कार्यक्रमका क्रममा महिला–मैत्री गाउँ विकास कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्याक्टर, प्लास्टिक टनेल, बिउविजन तथा अन्य आवश्यक कृषि सामग्री वितरण गरिएको दुल्लु नगरपालिकाले जनाएको छ।

दुल्लु नगरपालिका–२ की कृषक कौशिला खड्काले प्राप्त सामग्री तथा सहायताले व्यावसायिक तरकारीखेतीतर्फ आफूहरू उन्मुख भएको बताइन्। “पहिले खानका लागि मात्रै लाउँथ्यौँ, अहिले आम्दानीका लागि व्यावसायिक खेती गर्न थालेका छौँ,” उनले भनिन्।

नगरप्रमुख भरत रिजालले दुल्लुलाई कृषि आत्मनिर्भर नगर बनाउने लक्ष्यअनुसार किसानको सक्रियता उत्साहजनक रहेको उल्लेख गरे। “कृषिलाई प्राथमिकतामा राखेर गाउँ–गाउँमा कार्यक्रम विस्तार गरिरहेका छौँ,” उनले भने। साझेदार संस्थाहरूले कृषि विकासमा पुर्‍याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक तरकारी उत्पादनतर्फ उन्मुख भएको देखेर खुशी व्यक्त गरे। सामग्री जुन संस्थाबाट आए पनि त्यो दुल्लु नगरपालिकाले किसानकै फाइदाका लागि भएको बुझ्न उनले आग्रह गरे।

परियोजना संयोजक पुष्कर शर्माका अनुसार परियोजनाबाट दुल्लु नगरपालिका–२ र ३ का किसानलाई ६ वटा च्याउ टनेल, ३२ भकारो सुधार, १० माटो–सिमेन्ट पोखरी निर्माण, २२ जनालाई प्लास्टिक गुम्बज, १० जनालाई फलामे टनेल, १० जनालाई गड्यौला मल, १० जनालाई मौरीसहितको घार तथा २ वटा हाते ट्याक्टर नगर प्रमुख भरतप्रसाद रिजाल र सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सयुक्त किसानलाई वितरण गरिएको छ।

अनुगमन, अन्तरक्रिया र सामग्री वितरणका माध्यमबाट किसानको उत्पादन क्षमता बढ्ने र दुल्लु नगरको कृषि प्रणाली थप सुदृढ हुने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया