गुनासो पेटीकाले बोलेपछि अभिभावक पनि बोले

नारायण नगरपालिकामा सडक नाटकले सुरु गर्‍यो सामाजिक व्यवहार परिवर्तन

गुनासो पेटीकाले बोलेपछि अभिभावक पनि बोले

दैलेख – विद्यालयमा राखिएको गुनासो पेटीका धेरैका लागि मौन थियो। तर नारायण नगरपालिकाका गाउँ–टोलमा देखाइएको सडक नाटकले त्यो पेटीलाई बालबालिकाको आवाज र अभिभावकको जिम्मेवारीसँग जोड्दै सामाजिक व्यवहार परिवर्तनको सशक्त माध्यम बनाइदिएको छ। शिक्षक र समुदायको सहभागितामा सुरक्षित तथा समावेशी सिकाइ भूमिका अभियानअन्तर्गत नारायण नगरपालिका वडा नम्बर ९ सालखर्क र वडा नम्बर १ कुइकाना रातीमाटेमा अन्तरक्रियात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम युनिसेफको आर्थिक तथा प्राविधिक सहयोग, सोसेक नेपालको सहजीकरण र नारायण नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो।

 

७० अभिभावकसहित नगरपालिकाका अधिकारीको सहभागिता

कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बरिष्ठ अधिकृत पदम सापकोटा, स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का, आर्थिक तथा सामाजिक विकास शाखाका प्रमुख खमबहादुर थापा लगायत विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । सडक नाटक तथा अन्तरक्रियात्मक छलफलमा करिब ७० जना अभिभावकहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

उद्देश्यः सामाजिक व्यवहार परिवर्तनतर्फको पहल

यो सडक नाटक र अन्तरक्रियात्मक कार्यक्रमको मुख्य उद्देश्य केवल जानकारी दिनु मात्र थिएन, अभिभावक र समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु नै थियो। विद्यालयमा हुने गुनासो सुनुवाइ प्रणाली र गुनासो पेटीको व्यवस्था धेरै ठाउँमा भए पनि, त्यसलाई प्रयोग गर्ने संस्कार र बुझाइ अभिभावक तथा समुदायमा पर्याप्त रूपमा विकास हुन सकेको थिएन।

कार्यक्रमले अभिभावकहरूलाई आफ्ना बालबालिकाको कुरा सुन्ने, बुझ्ने र संवाद गर्ने व्यवहार विकास गराउने लक्ष्य राखेको थियो। बालबालिकाले समस्या परे चुप लाग्नु हुँदैन, अभिभावकले “ठूलो भएपछि आफैँ ठीक हुन्छ” भन्ने सोच त्याग्नुपर्छ र विद्यालयसँग नियमित सम्पर्क राख्नुपर्छ भन्ने सन्देश नाटकमार्फत प्रस्तुत गरिएको थियो।

 

अनिताको कथा, अभिभावकको यथार्थ

नाटकमा अनिता नामकी विद्यार्थीको कथा देखाइएको थियो। साथीहरूको व्यवहारका कारण मानसिक रूपमा पीडित हुँदासमेत न त आमाले उसको कुरा बुझ्न सकिन्, न शिक्षकले, न त साथीहरूले नै समयमै ध्यान दिए। कसैले पनि अनिताको कुरा नसुनेपछि उनलाई स्कुल जान समेत मन लाग्न छोडेको देखाइएको थियो।

अन्ततः अनिताले विद्यालयको गुनासो पेटीमा आफ्नो समस्या राखेपछि मात्रै संवाद सुरु हुन्छ। समस्या समाधान भएपछि साथीहरूले माफी माग्छन् र अनिता पुनः नियमित रूपमा विद्यालय जान थाल्छिन्। यो कथाले धेरै अभिभावकलाई आफ्नै घर–परिवारको यथार्थ सम्झाइदिएको थियो।

अभिभावक सचेत भए मात्र गुनासो सुनुवाइ प्रभावकारी

सडक नाटकले घरभित्रको व्यवहार, विद्यालयप्रतिको अभिभावकको दृष्टिकोण र बालबालिकासँगको सम्बन्ध परिवर्तन गर्नुपर्ने आवश्यकता उजागर गरेको छ। अभिभावक सचेत भए मात्र बालबालिकाले सुरक्षित वातावरणमा आफ्नो कुरा राख्न सक्ने र गुनासो सुनुवाइ प्रणाली प्रभावकारी बन्ने सन्देश नाटकको मूल भाव बनेको थियो।

नाटकपछि भएको छलफलमा सहभागी अभिभावकहरूले विद्यालयको अवस्था, शिक्षकहरूको भूमिका तथा समस्या पर्दा हुने गुनासो सुनुवाइबारे धेरै कुरा बुझ्न पाएको प्रतिक्रिया दिए। सहभागी अधिकांश अभिभावकहरूले अबदेखि महिनामा कम्तीमा एकपटक विद्यालय जाने र आफ्ना बालबालिकासँग खुलेर संवाद गर्ने प्रतिबद्धता जनाए।

“गुनासो राख्न पाउनु अधिकार हो”

युनिसेफ नेपालको कोडिनेटर शशिकला पाण्डेले विद्यालयमा हुने गुनासो सुनुवाइ प्रणाली बालबालिकाको अधिकारसँग जोडिएको विषय भएको बताइन्।
“सबै बालबालिकाले आफ्नो समस्या खुलेर भन्न सक्दैनन्। त्यस्तो अवस्थामा गुनासो पेटी उनीहरूको सुरक्षित माध्यम हो,” उनले भनिन्।
उनले अभिभावकलाई घरमै बालबालिकासँग संवादको संस्कार विकास गर्न आग्रह गर्दै बालबालिकालाई यस्ता विषयमा जानकारी गराउनु पनि आवश्यक रहेको बताइन्।

घरबाटै सुरु हुन्छ संस्कार

कार्यक्रमका प्रमुख अतिथि बमबहादुर केसीले बालबालिकाको व्यवहार र संस्कार घरमै निर्माण हुनेमा जोड दिए। बालबालिका १६ घण्टा घरमा र ८ घण्टा विद्यालयमा रहने भएकाले उनीहरूलाई कस्तो संस्कार दिने भन्ने जिम्मेवारी मुख्यतः अभिभावककै हातमा रहेको धारणा व्यक्त गरेका थियो। त्यसैगरी नारायण नगरपालिका वडा नम्बर ९ की वडा सदस्य विष्णु कुमारी सुनारले नाटकमा देखाइएजस्तै अभिभावकले बालबालिकालाई राम्रो शिक्षा दिन उनीहरूको समस्यालाई बुझ्नु अत्यन्तै जरुरी रहेको बताइन् ।

एउटा नाटक, धेरै परिवर्तन

सडक नाटकले मनोरञ्जन मात्र होइन, सामाजिक व्यवहार परिवर्तनको संवाद सुरु गरेको सहभागीहरूको बुझाइ छ। गुनासो पेटीमार्फत उठेको एउटा आवाजले अनिताको कथा बदलिएजस्तै, अभिभावकको सोच बदलिएमा धेरै बालबालिकाको भविष्य सुरक्षित र उज्यालो बन्न सक्ने सन्देश कार्यक्रमले दिएको छ। नारायण नगरपालिकामा गरिएको यो पहलले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध मजबुत बनाउँदै बालमैत्री र समावेशी सिकाइ वातावरण निर्माणतर्फ महत्वपूर्ण कदम चालेको आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया