लुम्बिनीले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम स्तब्ध
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सिमित बनेको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो। यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन थियो।
सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै ८६ रनको लक्ष्य पूरा गरे। लिग चरणमा उत्कृष्ट हुँदै पहिलो क्वालिफायरमा पनि जितसहित फाइनल खेलेको सुदूरपश्चिमले फाइनलमा भने सोचेअनुरुपको प्रदर्शन दिन सकेन।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाएको छ । तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रतियोगिता सुरु हुनु अघि पहिलो सिजनको पुरस्कार रकमलाई नै निरन्तरता दिने बताएका थिए।
प्रतिक्रिया