आईरन टनेलमा तरकारी उत्पादन सुरु

आईरन टनेलमा तरकारी उत्पादन सुरु

जुम्ला -   जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ९ मा रहेको देउती महिला कृषक समूहलाई प्रदान गरिएको आईरन टनेलमा तरकारी उत्पादन सुरु गरिएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’ को सहजीकरणमा देउती महिला कृषक समूहलाई प्रदान गरिएको आईरन टनेलमा तरकारी उत्पादन सुरु गरिएको हो । 

समूहले मंसिर १४ गते आईरन टनेलभित्र पलट (ब्याड) तयार गरी रायो र धनियाको बीउ रोपण गरेको थियो। रोपण गरिएको साग धनीया हाल दुई पाते अवस्थामा पुगेको समूहले जनाएको छ।

आईरन टनेल प्रविधिको प्रयोगबाट मौसमको प्रतिकूल असर कम भई उत्पादन समयमै र गुणस्तरीय हुने विश्वास गरिएको छ। यसले महिलाहरूको व्यावसायिक कृषि अभ्यासमा आत्मविश्वास बढाउनुका साथै घरायसी उपभोग र आम्दानीका लागि पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

बिहानी परियोजनामार्फत महिला कृषकहरूको सीप, क्षमता र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित कृषि प्रविधि, सामग्री तथा प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको सोसेक नेपालले जनाएको छ।

प्रतिक्रिया