सोसेकको सहयोगले चौधरी महिला कृषकहरूको आम्दानीमा वृद्धि
सुर्खेत - एईआइएन लक्जेम्बर्गको साझेदारीमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’ अन्तर्गत वडा नम्बर २, फलाटेस्थित चौधरी बस्ती समुदायका महिलाहरूले तरकारी तथा च्याउ उत्पादनमार्फत उल्लेखनीय आम्दानी गर्न सफल भएका छन् ।
बिहानी परियोजनामार्फत प्रदान गरिएको बीउ–बिजन तथा मिनी पावर टेलर्सको प्रयोगपछि चौधरी महिला कृषकहरूले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । सोही क्रममा राधिका चौधरी, सिउरानी चौधरी र लिला चौधरीले उत्पादन गरेका विभिन्न तरकारी बिक्री वितरण गरेका छन् ।
राधिका चौधरीले चौमासे सिमी २३ केजी प्रतिकेजी ९० रुपैयाँका दरले २ हजार ७० रुपैयाँ, काउली ५० केजी प्रतिकेजी १०० रुपैयाँका दरले ५ हजार रुपैयाँ तथा थप ५० केजी काउली प्रतिकेजी ८० रुपैयाँका दरले ४ हजार रुपैयाँ बिक्री गरेको बताइन् । त्यस्तै भाजीको साग ३ हजार ५ सय रुपैयाँ र धनिया ३ सय ७५ रुपैयाँ बराबर बिक्री गरेको उनको भनाई छ ।
सिउरानी चौधरीले चौमासे सिमी आफ्नै घरपरिवारको उपभोगका लागि पर्याप्त उत्पादन भएको बताइ । साथै साग १ हजार ५ सय रुपैयाँ र धनिया ५० मुठा प्रतिमुठा १५ रुपैयाँका दरले ७ सय ५० रुपैयाँ बराबर बिक्री गरेकी छिन् ।

लिला चौधरीले चौमासे सिमी ८ केजी प्रतिकेजी १०० रुपैयाँका दरले ८ सय रुपैयाँ, साग ५० मुठा प्रतिमुठा १५ रुपैयाँका दरले ७ सय ५० रुपैयाँ, धनिया १५ मुठा प्रतिमुठा १५ रुपैयाँका दरले २ सय २५ रुपैयाँ तथा काउली ४० केजी प्रतिकेजी ९० रुपैयाँका दरले ३ हजार ६ सय रुपैयाँ बराबरको तरकारी बिक्री गरेको बताइन् ।
त्यस्तै चौधरी महिला दिदीबहिनी समूहले च्याउ खेतीबाट झण्डै ३ क्विन्टल उत्पादन गरी प्रतिकेजी ३०० रुपैयाँका दरले कुल ९० हजार रुपैयाँ बराबरको च्याउ बिक्री वितरण गर्न सफल भएका छन्।
बिहानी परियोजनाले महिला कृषकहरूको सीप, उत्पादन क्षमता र आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागी महिलाहरूले बताएका छन् । परियोजनामार्फत प्राप्त सहयोगले स्थानीयस्तरमै रोजगारी सिर्जना हुनुका साथै महिलाहरूको जीवनस्तर सुधारमा टेवा पुगेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया