पाँच वर्षीय परियोजनाको किक-अप अभिमुखीकरण सम्पन्न

पाँच वर्षीय परियोजनाको किक-अप अभिमुखीकरण सम्पन्न

दैलेख -  सोसेक नेपाल दैलेख र वर्ल्ड भिजन इन्टरनेशनल नेपालबीचको सहकार्यमा सञ्चालित ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना’ को आगामी पाँच वर्षे कार्यान्वयनका लागि परियोजना किक–अप, कार्यक्रम मोडालिटी तथा लग–फ्रेम सम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मंसिर २६ देखि ३० गतेसम्म सञ्चालन भएको उक्त अभिमुखीकरण कार्यक्रम सोसेक नेपाल दैलेख र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा दैलेख बजारमा सम्पन्न भएको हो ।

कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि गणेश पाण्डे, श्रीराम थारु तथा जिल्ला संयोजकले सहजीकरण गरेका थिए । तालिममा सोसेक नेपाल अन्तर्गतका सम्पूर्ण कर्मचारी, बोर्ड सदस्यलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहमा बोल्दै सोसेक नेपालकी महासचिव ललिता भण्डारीले परियोजनाले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मुख्यतः तीनवटा समस्यालाई केन्द्रमा राखेर काम गर्ने बताइन् । बालबालिकाहरू असुरक्षित हुनु, हिंसामा पर्नु, पोषणयुक्त खानाबाट वञ्चित हुनु तथा पठनपाठनको गति सुस्त हुनुजस्ता समस्याको समाधानका लागि परियोजनाले बालबालिका, परिवार, समुदाय र नीति निर्माण तहसम्म पैरवी, राहत र वकालतका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको उनले बताइन् ।

त्यस्तै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले भगवतीमाई क्षेत्रका बालबालिकासँग सम्बन्धित तीन प्रमुख सवाल-हिंसा, कुपोषण र कमजोर शैक्षिक अवस्थालाई परियोजनाको मुख्य प्राथमिकतामा राखिएको स्पष्ट पारे । यी समस्याको समाधानका लागि बालबालिका, परिवार, समुदाय, संघ–संस्था तथा संरचनागत र नीतिगत तहसम्म सम्पर्क, समन्वय र सद्भावमार्फत काम गर्नुपर्नेमा उनले जोड दिए ।

थापाले परिवर्तन सम्भव रहेको उल्लेख गर्दै “परिवर्तन आजैबाट र आफैबाट सुरु हुनुपर्छ” भन्नुभयो। पाँच वर्षे रणनीति भए तापनि परियोजनाले पहिलो वर्षभित्रै नतिजामुखी कामको थालनी हुनुपर्नेमा उनको जोड थियो । साथै समाज रुपान्तरणका लागि जबर्जस्ती होइन, संवाद, सहकार्य र सद्भावमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे ।

अभिमुखीकरण कार्यक्रमले परियोजनाको स्पष्ट दिशा निर्धारण गर्नुका साथै आगामी दिनमा बाल समृद्धि र एकीकृत विकासका क्षेत्रमा प्रभावकारी कार्यान्वयनका लागि साझा बुझाइ निर्माण गर्न सहयोग पुगेको बताइएको छ । 

प्रतिक्रिया