बलात्कार उजुरीको मुद्दा बालविवाह ठहर, युवकलाई एक वर्ष कैद
दैलेख – १७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दर्ता भएको मुद्दा अन्ततः बालविवाह ठहर भएको छ। दैलेख जिल्ला अदालतले आइतबार डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २१ वर्षीय विकास कार्कीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
पीडित पक्षले बलात्कार भएको भन्दै उजुरी दिए पनि अदालतमा पेश भएका प्रमाण, बयान तथा घटनाक्रमको विश्लेषणपछि उक्त घटना बालविवाह भएको ठहर गरिएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट फैसला भएको हो।
अदालतका सूचना अधिकारी नायब सुब्बा गणेशप्रसाद रेग्मीका अनुसार ती युवती र आरोपित युवकबीच प्रेम सम्बन्ध रहेको र परिवारको सहमति बिना विवाह गरेको तथ्य खुल्न आएको छ। युवतीका अभिभावकले बलात्कारको अभियोगमा मुद्दा दायर गरे पनि अदालती तहबाट बालविवाह पुष्टि भएको फैसलामा उल्लेख छ।
फैसलाअनुसार पीडित युवती हाल अभिभावककै संरक्षणमा रहेकी छन् भने कसूरदार ठहर भएका युवक कारागार थुनामा छन्।
०८१ फागुन २३ गते बलात्कार भएको भन्दै पीडित पक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो। उजुरीका आधारमा प्रहरीले फागुन २६ गते युवकलाई पक्राउ गरेको थियो। उजुरी परेको दिन नै युवतीको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा गरिएको थियो।
यसैगरी ०८१ चैत १५ गते जिल्ला सरकारी वकील कार्यालयमार्फत दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता भएको थियो। भोलिपल्ट चैत १६ गते जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट पुर्पक्षका लागि युवकलाई कारागार पठाउने आदेश जारी गरिएको थियो।
प्रतिक्रिया