महिला कृषक समूहद्वारा हिउँदे तरकारी उत्पादनबाट आयआर्जन

महिला कृषक समूहद्वारा हिउँदे तरकारी उत्पादनबाट आयआर्जन

जुम्ला -  जुम्लाको चन्दननाथ नगरपालिका ६ स्थित महिला कृषक समूहले हिउँदे तरकारी उत्पादनबाट आयआर्जन थालेको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाले तालिम विउबिजन लगायतमा सहयोग गरेपछि अहिले आयआर्जन गर्न थालेका छन् ।

वडा नम्बर ०६ मा रहेको महादेव महिला कृषक समूहले आफ्नै लगानीमा काठ र फलामको संरचनायुक्त घर निर्माण गरी हिउँदे तरकारी उत्पादन गर्दै आयआर्जन गर्न थालेको बताएको छ ।

समूहले रायो र धनियाजस्ता हिउँदे तरकारी उत्पादन गरी मासिक करिब दुईहजार रुपैयाँ आम्दानी गरेको जनाएको छ । यसबाट महिलाहरूको दैनिकी खर्चमा सहयोग पुगेको छ भने घरायसी आयस्रोतमा पनि सकारात्मक परिवर्तन देखिएको छ।

बिहानी परियोजनामार्फत प्राप्त सीप, प्राविधिक ज्ञान र समूहगत सहकार्यले महिलाहरूलाई व्यावसायिक कृषितर्फ प्रेरित गरेको समूहका सदस्यहरूले बताएका छन्। स्थानीयस्तरमै उत्पादन भएका तरकारीले बजारको माग पनि पूरा भइरहेको छ।

महिला सशक्तीकरण र दिगो जीविकोपार्जनमा टेवा पुग्ने यस्ता पहलले ग्रामीण क्षेत्रमा आत्मनिर्भरता बढाउँदै लैजाने विश्वास लिइएको छ।

प्रतिक्रिया