दैलेख प्रहरीमा २० लैंगिक हिंसाका उजुरी, ६ जना प्रहरी हिरासतमा

दैलेख प्रहरीमा २० लैंगिक हिंसाका उजुरी, ६ जना प्रहरी हिरासतमा

दैलेख : जिल्ला  प्रहरी कार्यालय दैलेखले अघिल्लो महिनामा सम्पन्न भएका गतिविधि र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएको छ । अघिल्लो महिनामा गरिएका क्रियाकलापहरुको बारेमा बुधबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा  जानकारी दिइएको हो ।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार हाल प्रहरी हिरासतमा ६ जना थुनुवा रहेका छन्। मंसिर महिनामा जिल्लामा २० वटा लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता भएका छन्। त्यस्तै, १४ वटा ठाडो उजुरी परेका छन् भने सोही अवधिमा ४ वटा आत्महत्या, ४ वटा सवारी दुर्घटना र अवैध दुई नाले बन्दुक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका इकाइहरूबाट समाजमा हुने विकृति तथा विसंगति न्यूनीकरण गर्न मंसिर महिनाभर १ हजार ४ सय ४७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ। साथै जिल्ला प्रशासन कार्यालय दैलेखबाट नागरिकतासम्बन्धी जाँचबुझ गरी १२ वटा मुचुल्का गरिएको छ। प्रहरी हटलाइनमा आएका ८ सय १ कलमार्फत नागरिकका समस्या सुनुवाइ गरिएको र मंसिर महिनाभर १ हजार २ सय ३५ जना सेवाग्राहीले कार्यालयबाट सेवा लिएको विवरणमा उल्लेख छ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा स्थानीय सरकार र नागरिक समाजसँग सहकार्य गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो। उहाँका अनुसार यसले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन सकारात्मक सन्देश प्रवाह गरेको छ।

डीएसपी बरालले जनस्तरमा प्रहरी प्रशासनप्रति सकारात्मक भावना रहेकै कारण गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन तथा अन्य राजनीतिक गतिविधि र प्रदर्शनका बेला पनि जिल्लामा कुनै अप्रिय घटना नघटेको बताउनुभयो। समुदायको सहयोगले अपराध नियन्त्रणमा राम्रो सहयोग पुगेको भए पनि युवामा लागुऔषध दुर्व्यसन रोकथाम प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया