आधारभूत ग्रामीण खानेपानी मर्मत–सम्भार कार्यकर्ता सम्बन्धी ६ दिने तालिम सम्पन्न

आधारभूत ग्रामीण खानेपानी मर्मत–सम्भार कार्यकर्ता सम्बन्धी ६ दिने तालिम सम्पन्न

जाजरकोट - नलगाड नगरपालिका, जाजरकोटमा आधारभूत ग्रामीण खानेपानी मर्मत–सम्भार कार्यकर्ता सम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ। इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग, सोसेक नेपालद्वारा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता पुनर्लाभ परियोजना र नलगाड नगरपालिकाको सहजिकरणमा  आयोजना गरिएको  तालिम मंसिर २८ गते देखि पौष ४ गते सम्म सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएकाे हाे । 

भूकम्पका कारण क्षतिग्रस्त तथा बिग्रिएका खानेपानी संरचना र शौचालयको पुनःनिर्माण तथा दीगो व्यवस्थापन गर्ने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएको सोसेक नेपालले जनाएको छ। तालिममार्फत स्थानीयस्तरमै खानेपानी आयोजनाको मर्मत–सम्भार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको थियो। 

 

तालिमको समापन कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले ग्रामीण खानेपानी मर्मत–सम्भार सम्बन्धी तालिमले नगरभित्र निर्माणाधीन तथा निर्माण सम्पन्न भएका खानेपानी आयोजनाको दीगो सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय जनशक्तिको क्षमता विकासले खानेपानी सेवाको निरन्तरता सुनिश्चित गर्ने उल्लेख गरे।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सहभागीहरूले खानेपानी आयोजनामा आवश्यक पर्ने पाइप फिटिङ, धारा मर्मत, आरबीटी, डीसी तथा पाइपलाइनमा देखिने समस्या आफैं समाधान गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, खानेपानीसँगै स्वास्थ्य र सरसफाइको विषय पनि जोडिएको भन्दै सामाजिक कुसंस्कार परिवर्तन गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

 

तालिममा सहभागी जुनकुमारी गुरुङ (केसी) ले तालिमपछि धेरै नयाँ सीप र ज्ञान सिक्न पाएको बताउँदै, सिकेको सीप प्रयोग गरी आगामी दिनमा समुदायलाई सेवा दिने प्रतिबद्धता व्यक्त गरिन्।

आधारभूत ग्रामीण खानेपानी मर्मत–सम्भार कार्यकर्ता तालिमका प्राविधिक प्रशिक्षक गगनबहादुर थापा रहेका थिए। कार्यक्रमका अध्यक्ष तथा नलगाड नगरपालिका–८ का वडाध्यक्ष तेजबहादुर सिंहले खानेपानी आयोजना छनोट र निर्माण मात्र नभई दीगो रुपमा सञ्चालन हुने गरी काम गर्नुपर्ने बताए।

प्रतिक्रिया