गुराँसमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
दैलेख – गुराँस गाउँपालिकामा आइतबार सहयात्रा तेस्रो र ग्रीन कर्णाली परियोजनाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालन भइरहेको ‘सहयात्रा तेस्रो’ र ‘ग्रीन कर्णाली’ परियोजनाको वार्षिक कार्यसम्पादनको समिक्षा गरिएको हो।
कार्यक्रमले गाउँपालिकामा भएका कामहरूको समिक्षा गर्दै शैक्षिक र कृषि क्षेत्रमा परियोजनाले पुर्याएका योगदानको विवरण प्रस्तुत गरिएको थियो । सहयात्रा तेस्रो परियोजनाका कार्यक्रम व्यबस्थापक निर्मल अधिकारीले शिक्षक पेशागत विकास, शैक्षिक सामग्री वितरण, बालमैत्री कक्षाकोठा व्यवस्थापन, बालबालिकाको क्षमता विकास, सकारात्मक अनुशासन तालिम, बालकल्प गठन र गुनासो सुनुवाइ संयन्त्र स्थापना जस्ता क्षेत्रमा परियोजनाले काम गरेको जानकारी दिए। उनका अनुसार पालिकाका जोखिममा रहेका ७७६ बालबालिकामध्ये १७५ जनाले खाद्यान्न सहयोग पाएका थिए। ग्रीन कर्णाली परियोजनाका संयोजक पुष्कर शर्माले भने, “परियोजनाले भकारो सुधार, तरकारी खेती, गडौले मल उत्पादन र कृषकहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।”
गाउँपालिका अध्यक्ष टोप बहादुर विसीले भने, “हाम्रो पालिकामा बालबालिका र शिक्षाको क्षेत्रमा परियोजनाहरूले देखाएका सकारात्मक प्रभाव सराहनीय छन्। हामी आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूसँग सहकार्य गर्न तयार छौँ र बालमैत्री वातावरण सुदृढ पार्न जोड दिनेछौँ।”
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले भने, “परियोजनाहरूले बालबालिकाको विकास र समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण काम गरेका छन्।” पालिकाले नियमित फलोअप र अनुगमन गर्ने हो भने कार्यक्रम अझ प्रभावकारी हुने बताए । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, पालिका कर्मचारी र परियोजनाका कर्मचारीहरू सहभागी थिए।
प्रतिक्रिया