जुम्लामा टावर बन्यो, तर पुगेन नेटवर्क

जुम्लामा टावर बन्यो, तर पुगेन नेटवर्क

जुम्ला -  जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्ला क्षेत्रका इमिल्चा, मछालबाडा र बुढाबाडा बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घन्टौं पैदल हिँड्न बाध्य छन्। उक्त क्षेत्रमा टेलिफोन टावर भए पनि फोन नेटवर्क नलाग्दा स्थानीय बासिन्दा सञ्चार सुविधाबाट वञ्चित बनेका छन् ।

 सरकारले सञ्चार सुविधा पु¥याउने आश्वासन दिएको लामो समय भइसकेको भए पनि समस्या समाधान हुन सकेको छैन। नेपाल टेलिकमले थलाले क्षेत्रमा टावर निर्माण गरे पनि इमिल्चामा नेटवर्क टिप्न नसक्दा नागरिकले सेवा लिन पाएका छैनन् । तातोपानी–८ का वडाध्यक्ष नरबहादुर रावतले दुई वर्षअघि टावर बने पनि स्थानीयले सेवा उपभोग गर्न पाएका छैनन् भन्दै गुनासो व्यक्त गरे । 

उनले भने,  'टावर राखियो तर नेटवर्क छैन। इमिल्चामा अर्को टावर आवश्यक छ। धेरै पटक माग गरिसके पनि टेलिकमबाट कुनै प्रतिक्रिया आएको छैन ।”

त्यस क्षेत्रका नागरिक पूर्ण रूपमा सञ्चार सुविधाविहीन रहेको, बिरामी परे समस्या हुने, विद्यार्थी बाहिर गए दैनिक सञ्चार अभावले कठिनाइ झेल्नु परेको र आपतकालीन अवस्थामा चिकित्सक वा सुरक्षा निकायसँग सम्पर्क गर्न नसक्ने अवस्था सिर्जना भएको उहाँले बताए। नेपाल टेलिकम जुम्लाका प्रमुख पारस पुजाराले भने म भर्खरै जुम्ला आएको हुँ । विस्तृत जानकारी लिएर समस्या समाधानको प्रयास गर्नेछु।

प्रतिक्रिया