एमाले नेता बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं - नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालत काठमाडौँले उनीसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा गत असार १९ गते विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी उनीसहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा दायर गरिएको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह र संगीतालाई दोषी ठहर गरेको हो । उनीहरूलाई जनही १ लाख ९० हजार जरिवाना र साढे १ वर्ष कैद सजाय तोकिएको छ ।
पछिल्लो समय नन्दसिंह डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि समेत बनेका थिए ।


प्रतिक्रिया