खाँडाचक्रमा सुरक्षित बसाइँसराइसम्बन्धी दुईदिने तालिम संचालन
कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिकामा सुरक्षित बसाईँसराइ, सरुवा रोग तथा सुरक्षा उपायसम्बन्धी दुईदिने तालिम संचालन गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा सञ्चालित ‘आधार परियोजना’को सहजीकरणमा दुईदिने तालिम सुरु भएको हो ।
खाडाचक्र नगरपालिका वडा नम्बर ३ की दलित महिला सदस्य श्री मुगा नेपालीको अध्यक्षतामा सम्पन्न तालिमको पहिलो दिन महिला मानव अधिकार रक्षक सञ्जालका सदस्य, युवा क्लब, बाल क्लब, महिला सञ्जाल तथा विभिन्न महिला समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
तालिमको पहिलो दिन सुरक्षित बसाइँसराइका अवधारणा, जोखिम न्यूनीकरणका उपाय, सरुवा रोगको पहिचान तथा रोकथाम, साथै समुदायस्तरमा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । सहभागीतामूलक छलफल, समूह कार्य र अनुभव आदान–प्रदानमार्फत विषयवस्तु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमले महिलाहरू, बालबालिका र युवालाई सुरक्षित बसाइँसराइ र स्वास्थ्य सुरक्षाप्रति सचेत बनाउँदै समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। तालिमको दोस्रो दिन थप व्यवहारिक अभ्यास र नीतिगत पक्षमा छलफल गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया