हिमालय माध्यमिक विद्यालयलाई रिजालद्वारा आर्थिक सहयोग
दैलेख – चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ स्थित श्री हिमालय माध्यमिक विद्यालय, तीजको डाँडालाई पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य छविलाल रिजालले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
आफ्नो जन्मदिनको अवसर पारेर फाल्तु खर्च नगरी विद्यालयको समग्र प्रगति र अध्ययनरत बालबालिकाको शैक्षिक उन्नतीका लागि रिजालले ७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको विद्यालयले जनाएको छ।

विद्यालयका अत्यन्त सक्रिय अभिभावकसमेत रहनुभएका रिजालले जन्मदिनलाई सेवामूलक कार्यसँग जोड्दै शिक्षा र समाजप्रतिको गहिरो जिम्मेवारीभाव प्रस्तुत गर्नुभएको विद्यालय परिवारको भनाइ छ। यस किसिमको सहयोगले विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको विद्यालयका प्रधानध्यापक हर्क बिकले बताए ।
विद्यालय परिवारले यस सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै रिजालको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति तथा शैक्षिक र सामाजिक क्षेत्रमा निरन्तर योगदानको कामना गरेको छ। साथै, भविष्यमा पनि यस्तै सकारात्मक र प्रेरणादायी साथ प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया