भैरबीमा सामुदायिक बीउ बैंकका लागि सामग्री वितरण
दैलेख- दैलेखको भैरबी गाउँपालिकामा सामुदायिक बीउ बैंकका लागि सामग्री वितरण, गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी भैरबी गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा सामुदायिक बीउ बैंकका लागि सामग्री वितरण सहित च्याउ खेती अवलोकन गरिएको थियो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा सोसेक नेपालका उपाध्यक्षको उपस्थितिमा उज्यालो साना किसान सहकारी संस्थामा सामुदायिक बीउ बैंक स्थापनाका लागि आवश्यक सामग्री वितरण गरिएको आधार परियोजनाले भैरबीले जनाएको छ । कार्यक्रममार्फत स्थानीय कृषकको बीउ संरक्षण, उत्पादन वृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।

सामग्री वितरणपश्चात् भैरबी गाउँपालिका वडा नं. ६ मा सञ्चालित च्याउ खेतीको स्थलगत अवलोकनसमेत गरिएको थियो । अवलोकनका क्रममा च्याउ खेतीको प्रविधि, उत्पादन अवस्था र बजार सम्भावनाबारे छलफल गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका जनप्रतिनिधिहरूले सामुदायिक बीउ बैंकले कृषकलाई गुणस्तरीय बीउमा पहुँच बढाउने र परम्परागत बीउ संरक्षणमा टेवा पुर्याउने बताए । सोसेक नेपालले स्थानीय तहसँगको सहकार्यमा कृषि उद्यमशीलता र दिगो जीविकोपार्जन प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया