बिरेन्द्रनगरमा विपन्न महिलालाई चप्पल बनाउने तालिम

बिरेन्द्रनगरमा विपन्न महिलालाई चप्पल बनाउने तालिम

सुर्खेत -  देशमा बढ्दो आर्थिक संकट, महँगी र रोजगारीको अभावका बीच अवसरको खोजीमा युवायुवती विदेश पलायन भइरहेका बेला स्थानीय स्तरमै रोजगारी सिर्जनाको पहल सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर नगरपालिका–१ मा सोसेक नेपालले वडा कार्यालयसँगको सहकार्यमा बिहानी परियोजनाअन्तर्गत गरिब, विपन्न तथा सहाराबिहिन महिलाहरूलाई लक्षित गर्दै एक हप्ते चप्पल बनाउने तालिम प्रदान गरेको छ।

एईआइएनको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिममा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै ७ जना सहाराबिहिन महिलालाई सीप प्रदान गरिएको हो। तालिमले सहभागी महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै वडा नं. १ का अध्यक्ष दिनेश खत्रीले सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरणमा महत्वपूर्ण योगदान दिने बताए । सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले तालिमपछि सीपलाई उद्यमशीलतासँग जोड्दै उत्पादित सामग्री कर्णालीका अन्य जिल्लामा समेत विस्तार गर्ने योजना बनाउन सुझाव दिए ।

बिहानी परियोजनामार्फत स्थानीय स्रोतको सदुपयोग गर्दै विपन्न महिलाको जीवनस्तर सुधार र आत्मनिर्भरता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया