जनचेतनशील कृषि बहुउद्देशीय सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न
दैलेख: भगवतीमाई गाउँपालिका–६, दैलेखमा रहेको श्री जनचेतनशील कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। विहीबार सहकारीका अध्यक्ष बमबहादुर खत्रीको अध्यक्षतामा सभा सपन्न भएको हो ।
२०६६ साल भदौ ५ गते स्थापना भएको यस सहकारीमा सोसेक नेपाल र भगवतीमाई गाउँपालिकाको साझेदारीमा सञ्चालित नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजना लागू भएपछि सहकारीको वास्तविक उद्देश्य, मूल्य र मर्मबारे स्पष्ट बुझाइ आएको अध्यक्ष खत्रीले बताए। उनका अनुसार सहकारीमार्फत सदस्यहरूको बचत वृद्धि, अनुशासित ऋण प्रवाह, व्यावसायिक सोचको विकास तथा संस्थागत सुशासनमा उल्लेखनीय सुधार आएको छ। सो अवसरमा उनले लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेट सभासमक्ष प्रस्तुत गरे।
परियोजना लागू हुनुअघि ८४ जना मात्र शेयर सदस्य रहेको सहकारीमा हाल १४९ जना शेयर सदस्य पुगेको जानकारी दिंदै अध्यक्ष खत्रीले परियोजनाको सहयोगमा ४१ जना शेयर सदस्य व्यावसायिक कृषि तथा उद्यमशीलतामा संलग्न भइसकेको बताए। उनले लैङ्गिक समानता, क्षमता विकास, गुनासो व्यवस्थापन तथा सहकारी सुशासनका क्षेत्रमा परियोजनाले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी दिनमा उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा थप जोड दिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनाकुमारी खड्काले साधारण सभाको शुभकामना दिँदै परियोजना तथा सहकारीले सञ्चालन गरेका गतिविधिहरू गाउँपालिकाका लागि उपयोगी रहेको बताइन्। सफल अभ्यासहरूलाई आगामी दिनमा अन्य वडाहरूमा पनि विस्तार गरिने प्रतिबद्धता उनले जनाइन्।

सोसेक नेपाल अन्तरगत नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजनाका कार्यक्रम सहायक रवि लामिछानेले परियोजनामार्फत गरिएको सानो सहयोगले सहकारीका सदस्यहरू व्यवसायतर्फ अग्रसर हुँदै गएको देख्दा आफूहरू उत्साहित भएको बताए। सहकारीमा आबद्ध शेयर सदस्यहरूको संख्या ८४ जनाबाट बढेर १४९ जनासम्म पुग्नु कार्यक्रमको ठोस उपलब्धि भएको उनको भनाइ थियो।
देशभर धेरै सहकारीहरू व्यवस्थापन कमजोरी र पारदर्शिताको अभावका कारण समस्यामा परिरहेको अवस्थामा श्री जनचेतनशील कृषि बहुउद्देश्य सहकारीले सीमित स्रोतसाधनका बाबजुद पनि सुशासन, स्पष्ट नीति र सदस्य–केन्द्रित कार्यक्रममार्फत सकारात्मक नतिजा देखाउन सफल भएको उनले बताए।
सहकारीका कोषाध्यक्ष धिरेन्द्रप्रसाद जैसीले नियमित बचत, समयमै ऋण असुली र पारदर्शी वित्तीय व्यवस्थापनका कारण सहकारीको आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै गएको बताए। साधारण सभाकै अवसरमा सोसेक नेपालद्वारा अत्यन्तै विपन्न अवस्थाका दुई जना टुहुरा बालबालिकालाई विद्यालय पोशाक, कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गरिएको थियो। सामग्री पाएपछि बालबालिका तथा अभिभावकहरू भावुक बनेका थिए।
कार्यक्रममा सहकारी व्यवस्थापक लक्षिराम शर्माले परियोजना लागू भएपछि सहकारीको दैनिक सञ्चालन, लेखा व्यवस्थापन र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको बताए। परियोजनाको सहयोगमा विभिन्न नीति निर्माण भएसँगै सहकारीको पारदर्शिता, जवाफदेहिता र संस्थागत सुदृढीकरणमा ठोस टेवा पुगेको उनको भनाइ थियो।
१६औँ वार्षिक साधारण सभाले सहकारीको विगत उपलब्धिको समीक्षा गर्दै आगामी दिनका लागि स्पष्ट दिशा तय गरेको निष्कर्ष निकालिएको छ। सहकारीमार्फत स्थानीय स्तरमै दिगो विकास, आत्मनिर्भरता र आर्थिक सशक्तीकरण सम्भव छ भन्ने सन्देश कार्यक्रमले दिएको छ।
प्रतिक्रिया