भैरवीमा हातेमालो र आधार परियोजनाको प्रभाव देखियो, पालिका स्तरीय बैठक सम्पन्न

भैरवीमा हातेमालो र आधार परियोजनाको प्रभाव देखियो, पालिका स्तरीय बैठक सम्पन्न

दैलेख : भैरवी गाउँपालिकाका विभिन्न वडाहरूमा शिक्षा, कृषि, अपाङ्गता तथा आयआर्जनसँग सम्बन्धित गतिविधिहरूको अनुगमनपछि पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

सोसेक नेपालद्वारा सञ्चालित तथा भैरवी गाउँपालिकाको साझेदारीमा लागू भइरहेको हातेमालो–हाम्रो आवाज हाम्रो सहभागिता परियोजना र आधार परियोजना अन्तर्गत अपाङ्गता, महिला, बालबालिका, युवा क्लब, कृषि क्षेत्र र आमा समूहमा सञ्चालन भएका गतिविधिको प्रभाव र समुदायमा आएको परिवर्तन मूल्यांकन गर्ने उद्देश्यले अनुगमन गरिएको हो। 

बैठकमा भैरवी गाउँपालिका अध्यक्ष रीता शाहीले सोसेक नेपालबाट सञ्चालित कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याएको बताइन्। अपाङ्गताको क्षेत्रमा भएका कामले अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउनुका साथै संगठित हुन सहयोग पुगेको उनको भनाइ थियो। उनले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै लक्षित समूहको माग र आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

गाउँपालिका उपाध्यक्ष तथा परियोजना सल्लाहकार समिति संयोजक देवी भण्डारीले विगतमा सञ्चालन भएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा आवश्यकता आधारित कार्यक्रम सञ्चालन गर्न पालिकाको साथ र सहयोग निरन्तर रहने बताइन्। स्थानीय तह, संस्था र समुदायबीचको समन्वय अझ मजबुत बनाउनुपर्नेमा पनि उनले जोड दिइन्।

अनुगमन तथा बैठकमा सोसेक नेपाल उपाध्यक्ष कविराज रिजाल, महासचिव ललिता भण्डारी, कोषाध्यक्ष संगीता राना, हेड अफ प्रोग्राम भिमबहादुर केसी, महिला तथा बालबालिका शाखा प्रमुख निर्मला कुमारी आचार्य तथा शिक्षा प्रतिनिधि दीपक कुमार खनाल सहभागी थिए।

सोसेक नेपालका उपाध्यक्ष कविराज रिजालले सहयोग दिगो व्यवसायसँग जोडिनु आवश्यक रहेको बताउँदै परियोजनामार्फत आवश्यक सहयोग निरन्तर रहने जानकारी दिए। हेड अफ प्रोग्राम भिमबहादुर केसीले समूहमा रहेका फरक–फरक प्रकारका अपाङ्गताका कारण परियोजना र समूह मिलेर काम गर्दा प्रभावकारिता बढ्ने बताए।

अनुगमनका क्रममा समूहका सदस्यहरूले बालबालिकाको विद्यालय पहुँच सहज भएको, आर्थिक समस्याका बाबजुद बालबालिका नियमित विद्यालय जान थालेको, केही अपाङ्गता भएका व्यक्तिहरूले उपचार सेवा पाएको तथा केहीको घर निर्माणमा सहयोग पुगेको अनुभव साझा गरे। उनीहरूले मौरीपालन, कुखुरापालन र बाख्रापालनजस्ता आयआर्जनमूलक व्यवसायमा थप सहयोगको माग गरेका थिए।

हाल भैरवी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका १० वटा अपाङ्गता स्वावलम्बन समूह गठन भई सक्रिय रहेका छन्। ती समूहहरू दिगोपनाका लागि पालिकामा दर्ता प्रक्रियामा रहेका र विभिन्न वित्तीय संस्थासँग आबद्ध हुँदै गएका छन्। 

अनुगमनले हातेमालो र आधार परियोजनाले पालिकासँगको साझेदारीमा सञ्चालन गरेका गतिविधिहरू समुदायमा सकारात्मक प्रभाव पारेको देखाएको छ। यसले स्थानीय सरकार, संस्था र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया